
खोटाङ, चैत ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अन्तर माध्यमिक विद्यालय र आधारभुत विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गराएको छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमता अभिवृद्धिका लागि नगरपालिकाले हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
सुरुमा नगरपालिका भित्रका ११ वटै वडामा कक्षा १–५ सम्मका विद्यार्थीहरुको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गरिएको थियो । जसमा वडाका विजेता विद्यालयहरु बीच शुक्रबार दुर्छिम माध्यमिक विद्यालयमा नगरपालिकाले हाजिरजवाफ गराएको थियो । कक्षा १–५ सम्मका विद्यार्थीहरुको हाजिरजवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा आवि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् ।
यस्तै, नगरपालिका भित्रका १२ वटै माध्यमिक विद्यालयका कक्षा ६–१० सम्मका विद्यार्थीहरु बीच भएको हाजिरजवाफमा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई भने बक्तृवकला प्रतियोगिता आयोजना गरिएको थियो । “हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका” शिर्षकमा भएको बक्तृवकलामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रदोय माविका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्वती माविका रमेश कार्की चौथौ भएका छन् ।
विजेता विद्यर्थीहरुलाई क्रमस ७, ६ र ५ हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले बताउनुभयो । यस्तै, कक्षा १–५ सम्मका विद्यार्थीहरुको हाजिरजवाफमा प्रथम हुने बुलापन्थे मावि धितुङ र ६–१० सम्मका विद्यार्थीहरु बीच भएको हाजिरजवाफमा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरुप नगद ५०/५० हजारले सम्मान गरिएको उहाँको भनाइ छ ।
नगरपालिकाको ट्यालेन्ट हन्ट कार्यक्रम अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्याक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्यज्ञानबाट २० प्रतिशत प्रश्नहरु सोधिएका थिए । जसले कुन विद्यालय उत्कृष्ट छ भन्ने हिसाबले प्रतियोगिता आयोजना गरिएको शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो ।
नगरपालिकाका मेयर विमला राईको प्रमुख आतिथ्यता र सामाजिक विकास संयोजक तथा १ नम्बर वडाका अध्यक्ष रुद्र कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, वडाध्यक्षहरु किशोर बस्नेत, गण बहादुर राई, कमल गिरी, अनिश कार्की, सबै माविका प्रअ, व्यवस्थापन समतिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
