
खोटाङ, चैत ७ । वन डढेलो व्यवस्थापन सम्बन्धि डिविजन वन कार्यालय खोटाङले जनचेतना मुलक कार्यक्रम गरेको छ । वन तथा वातावरण मन्त्रालयको निर्देशन अनुसार एक सातासम्म सञ्चालन भएको जनचेतना जागरण कार्यक्रमको मंगलबार समापन गरिएको हो ।
वन डढेलो तथा व्यवस्थापन सम्बन्धि मंगलबार दिक्तेलस्थित रत्नपार्कदेखि वाणिज्य बैंकसम्म र्यालि निकालिएको थियो । र्यालि पश्चात जिल्ला समन्वय समितिको समिक्षालयहलमा औपचारिक कार्यक्रम गरी जनचेतना जागरण सप्ताहको समापन गरिएको हो । समापन कार्यक्रममा कार्यालयका प्रमुख जगदिश रेग्मीले डढेलो लाग्ने तरिका, त्यसलाई निभाउने उपाय, त्यसको असर र व्यवस्थापनको विषयमा प्रस्तुती दिनुभएको थियो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय र गोरखनाथ गण मुडे ब्यारेक लाई वन डिविजन कार्यालयले डढेलो नियन्त्रण गर्ने सामाग्री हस्तान्त्रण गरेको छ । सोही कार्यक्रममार्फत जिल्ला प्रशासन कार्यालय संयोजक र डिविजन वन कार्यालय सदस्य सचिव रहने गरी अग्नि नियन्त्रक सञ्जालसमेत गठन गरिएको छ । सञ्जालको सदस्यमा जिल्ला प्रहरी कार्यालय, गोरखनाथ गण मुडे ब्यारेक, ससस्त्र प्रहरी वल नेपाल, नम्बर ७ गुल्म हलेसी, सामुदायिक उपभोक्ता महासंघ, निजि पारिवारिक वन संघ, कृषि कार्यालय, स्थानीय सरकार (नगरपालिका/गाउँपालिका), नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत प्राधिकरण र पशु विकास कार्यालय रहेका छन् ।
यस्तै, कार्यक्रममा बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राईले यस्ता जनचेतना मुलक कार्यक्रम जनस्तरमा गएर गर्नु पर्ने बताउनुभयो । वन डढेलो, आगलागि जस्ता विषयहरुमा जनचेतनाका कार्यक्रम वर्षमा एक दिन मात्र नभएर हरेक दिन गरिनु पर्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाइको भनाइ थियो ।
कार्यक्रममा प्र.जि.अ सेडाइ, वडाध्यक्ष राईसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङ, ससस्त्र प्रहरी वल नेपाल, नम्बर ७ गुल्मका प्रमुख श्याम राउत, गोरखनाथ गण मुडे ब्यारेकका मेजर सरोज भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र कुमार बजिमय लगायतको उपस्थिति रहेको थियो ।

