Thursday, April 16News That Matters

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद


खोटाङ, चैत ८ । खोटाङ उद्योग वाणिज्य संघमा विवाद देखिएको छ । संघको ११ औं अधिवेशनलाई लिएर छुट्टा छुट्टै गरिएका निर्णयले विवाद उत्पन्न भएको हो ।

गत फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको थियो । तर सचिवालयले गरेको निर्णय चैत्र ५ गते बसेकोे पूर्ण बैठकले अनुमोदन गर्न नमानेपछि संघमा विवाद सुरु भएको देखिन्छ ।

फागुन १७ गते गरिएको निर्णय आधारिक हुने एक पक्षको माग रहेको छ । चैत ५ गते गरिएको निर्णय निर्वाचनलाई प्रभावित गर्ने गरि भएको भन्दै असन्तुष्ट पक्षले खारेजीको माग गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीको नेतृत्वमा सोमवार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ समक्ष कामचलाउ समितिले गरेको निर्णय खारेजिको माग गरेको छ ।

उनीहरुले कार्यालयमा सुरक्षित नहुने भन्दै संघको बैठक पुस्तिकासमेत सिडिओ सेडाइलाई बुझाएका छन् । फागुन १७ गते पछि नविकरण भएका सदस्यहरुलाई मताधिकार प्रयोग गर्न दिनु पर्ने उनीहरुको माग छ ।

यता चैत ५ गते बसेको संघको पुर्ण बैठकले संघको निर्वाचन चैत १६ गतेलाई सारेको छ । १७ फागुनमा सचिवालयले छुटेका सदस्यलाई नविकरण गर्न ३० फागुनसम्म समय दिए पनि सदस्यहरु स्वयं उपस्थित नभइ अन्य ब्यक्तिहरुले लिस्ट तयार पारेर आएकाले रोकिएको संघका अध्यक्ष उपिन कुमार राईको भनाइ छ ।

निर्वाचनाई लिएर विवाद उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच बिहिबार छलफल हुने भएको छ ।