
खोटाङ, चैत १३ । खोटाङको रावाबेँसी गाउँपालिकाले लिचीलाई प्रवद्र्धन गर्ने भएको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई प्रवद्र्धन गरेर लाने गाउँपालिकाले जनाएको छ । जसअनुसार गाउँपालिकाको वडा नम्बर १ कुभिण्डेका लिचीको माउबोट छानेर ट्याग लगाएको छ ।
लिचीको बेर्ना उत्पादनमा प्रयोग गर्नका लागि स्वस्थ र गुणस्तरिय दाना फल्ने २० बोटलाई माउबोटका रुपमा छानेर ट्याग लगाइएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राई जानकारी दिनुभयो । करिब अढाइ सय वर्ष अघिदेखि व्यवसायीक रुपमा लिची उत्पादन हुँदैआएको कुभिन्डेमा लिचीको आफै गुणस्तरिय बेर्ना उत्पादन गर्ने र बेर्ना खरिदका नाममा बाहिरिने रकमलाई गाउँमै रोक्ने लक्ष्यका साथ माउबोट छानिएको राईले बताउनुभयो ।
कुभिन्डेमा लिचीका ठूलाठूला करिब तीन–चार सय बोट छन् । वडा समिति, कृषि प्राविधिक, अगुवा तथा अनुभवी किसानसँगको छलफलबाट १३ किसानको बगानका २० बोटलाई माउबोट छानिएको हो । लिचीको माउबोट छनौटसँगै १३ जना किसानलाई लिचीको दुई हजार बोट कलमी बेर्ना उत्पादनको जिम्मेवारी दिइएको छ । गाउँपालिकाले गत माघमा लिचीको कलमी बेर्ना उत्पादन सम्वन्धी तालिम सञ्चालन गरेको थियो ।
लिची बिक्रीबाट लाखौं भित्रिने कुभिन्डेमा वर्षेनी अन्यत्रबाट लिचीको बेर्ना भित्रिने गरेको छ । बाहिरबाट खरिद गरेर ल्याइएका कतिपय लिचीको बेर्नाबाट अपेक्षित फल उत्पादन नहुँदा किसान ठगिएकाले गाउँमै कलमी बेर्ना उत्पादनको तयारी गरिएको संयोजक राईको भनाइ छ ।
पोखरेल थरका स्थानीयले भारतको दरभंगाबाट लिचीका बिरुवा ल्याएर रोपेपछि कुभिन्डेमा लिची खेती सुरु भएको हो । हाल रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–६ हौंचुरमा पनि व्यवसायीक रुपमा लिची खेती भइरहेको छ । कुभिन्डे, खार्पा र हौंचुरका अधिकांश घरमा ठूला ठूला लिचीको बोट देखिन्छन् ।
लिची, एभोकार्डो, कागती, किवी लगायतको बेर्ना उत्पादनकालागि श्रोत केन्द्र स्थापना गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष १० लाख बिनियोजन गरेको छ । वडा कार्यालय नजिकै फलफुलको नर्सरी श्रोत केन्द्र स्थापनाको काम अघि बढेको गाउँपालिकाले जनाएको छ ।
