Sunday, April 20News That Matters

विद्यालयलाई सिकाइ उपलब्धि बढाउने गरी कार्ययोजना बनाउन नगरपालिकाको निर्देशन

खोटाङ, चैत २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयहरुलाई सिकाइ उपलब्धि बढाउने गरी वार्षिक कार्ययोजना बनाउन निर्देशन दिएको छ । कक्षागत नतिजा विश्लेषण गरी हालको (सक्षमता) उत्तिर्ण प्रतिशत भन्दा आगामी दिनमा सिकाइ उपलब्धि वार्षिक न्यूनतम तीन प्रतिशतको वृद्धि लक्ष्य राखेर कार्ययोजना बनाउन नगरपालिकाले निर्देशन दिएको हो ।

नयाँ शैक्षिक सत्र २०८० मा लक्ष्य निर्धारण गरेर सिकाइ उपलब्धि बढाउने गरी विद्यालयलाई निर्देशन गरिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । नगरका सामुदायिक विद्यालयहरुले वार्षिक कार्ययोजना निर्माण गरेर आगामि वैशाख १० गते भित्र नगर शिक्षा शाखामा पेश गर्न भनिएको उहाँको भनाइ छ ।

यस्तै, कतीपय विद्यालयमा विद्यार्थी संख्या र भर्ना संख्यामा फरक परिरहेकाले आइ.इ.एम.आइ.एस र विद्यालयमा भर्ना दरमा फरक नपर्ने गरी विद्यार्थी संख्या पेश गर्नसमेत पत्रमार्फत विद्यालयहरुलाई निर्देशन गरिएको छ । शैक्षिक सुधारका लागि विद्यालयमा, शैक्षिक, खेलकुद लगायत आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने, पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिने, विद्यालय परिसरमा सरसफाइ नियमित गर्ने लगायतका निर्देशन नगपालिकाको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार विद्यार्थी संख्या नभएमा विद्यालय समायोजन तथा कक्षा घटुवाको प्रधानाध्यापक आफैले स्वघोषणा गरेमा पुरस्कृतसमेत गरिने नगरपालिकाले जनाएको छ ।