
खोटाङ, चैत २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेश पायल राई (राई इज किंग) लाई नगरपालिकाको ‘सद्भावना दूत’मा राखेको छ । नगर कार्यपालिकाको चैत १९ गतेको निर्णयले गायक राईलाई ‘सद्भावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन गरेर मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ । गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानकोरुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्भावना दूत’मा राखिएको मेयर भट्टराईले बताउनुभयो । गायक राईले पनि समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको उहाँको भनाइ छ ।
गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त रहेको मेयर भट्टराईले बताउनुभयो । यस्तै, सोही कार्यपालिकाले विभिन्न सल्लाहकार र सल्लाहकार समितिसमेत गठन गरेको जनाएको छ ।
अन्तराष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम गरिने
खोटाङ जिल्लाको महत्व, संकृति स सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विकास गर्नका लागि आगामी वर्ष अन्तराष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम नगरपालिकाले गर्ने भएको छ । जस अनुसार विभिन्न देशका वरिष्ठ चित्रकार तथा नेपालका मूर्धन्य चित्रकारहरु गरी करीब ४० जना एक साता दिक्तेलमा बसेर नगरपालिका साथै जिल्लाको महत्वपुर्ण ठाउँको चित्र क्यानभासमा उतार्ने गरी कार्यक्रमको तयारी गरिएको मेयर भट्टराईले बताउनुभयो । उक्त चित्रहरुलाई काठमाडौंमा लगेर नेपालका उच्च पदका ब्यक्तिमार्फत उद्घाटन गरेर चित्रकला प्रदर्शनीगरिने उहाँको भनाइ छ ।
पूर्व मेयर उपमेयरसहित १९ जना सल्लाहकार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुभवि सल्लाहकारमा पूर्व मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवि राईलाई राखिएको छ । १९ जनालाई नगरपालिकाको विभिन्न विद्यामा सल्लाहकार राखेको नगरपालिकाले अनुभवि सल्लाहकारमा भने सोही नगरका पूर्व मेयर र उपमेयरलाई राखेको छ ।
यस्तै, राजनैतिक सल्लाहकारमा प्रकाश श्रेष्ठ, प्राज्ञिक सल्लाहकारमा जसराज किराती, स्वास्थ्य सल्लाहकारमा, डा. केके राई, शिक्षा सल्लाहकारमा राजनशेर राई, सञ्चार सल्लाहकारमा कृष्ण आचार्यलाई राखिएको मेयर भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
यस्तै, कानुनि सल्लाहकारमा नारायणदाश राई, सांस्कृतिक संरक्षणमा पदम प्रसाद आचार्य, संस्कृति सभ्यतामा भोगीराज राई, कृषिमा सुर्य राई, पर्यटनमा ज्ञानिन राई, निजि क्षेत्रमा राजन आचार्य, परराष्ट्र समन्वयमा, जेपी श्रेष्ठ, खेलकुदमा विचारी तामाङ, स्थानीय सामाग्री प्रवद्र्धनमा चन्द्रप्रसाद आचार्य, आन्तरिक पर्यटनमा जेपी राई, कोशी प्रदेश सञ्चारमा रत्नप्रसाद आचार्य र उपत्यका कानूनी सल्लाहकारमा लक्ष्मण आचार्यलाई राखिएको मेयर भट्टराईले बताउनुभयो ।
सल्लाहकार समितिसमेत गठन
नगरपालिकालाई समृद्ध बनाउन स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्न जरुरी रहेकाले नगरपालिकामा जन्मिएर देश तथा विदेशमा बस्नुहुने ब्यक्ति र अन्य ठाउँमा जन्मिए पनि यस नगरपालिकाको उन्नतीका लागि काम गरिरहनु भएका ब्यक्तिहरुलाई समेटेर नगरपालिकाले विभिन्न सल्लाहकार समिति गठन गरेको छ । उद्योगपति, व्यापारि, बुद्धिजिवी, प्रशासक, गायक, संगितकार, तथा कृषकलाई जोडेर उहाँहरुको विचारलाई समाहित समाहित गर्दै नमुना नगरकोरुपमा विकास गर्न उक्त समितिहरु गठन गरिएको मेयर भट्टराईले बताउनुभयो ।
गठन गरिएका केही सल्लाहकार समितिमा रहने ब्यक्तिहरुले नगरपालिकामा विभिन्न शिर्षकमा लगानिसमेत गर्न इच्छुक रहेको मेयर भट्टराईले सुनाउनुभयो । यसैबिच, नगरपालिकाले राखेको तथा गठन गरेको सल्लाहकार र सल्लाहकार समिति मध्ये कानूनी सल्लाहकारलाई बाहेक अन्यलाई कुनै तलब भत्ता तथा अन्य सुविधा उपलब्ध नगराइने नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् गठन गरिएका समिति र ब्यत्तिहरु