Saturday, April 19News That Matters

खानेपानीको समस्याले खोटाङको एक गाउँ पुरै रित्तियो

खानेपानीको समस्याले मानिसहरु बसाइँसराइ गउपछि पुरै रित्तिएको राजापानीको पुरानो गाउँ, तस्विर :राजकुमार भट्टराई (सरगम)

राजकुमार भट्टराई (सरगम)

खोटाङ, चैत १४ । खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले अहिले रित्तो भएको छ ।

करीब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइँसराइ गएपछि अहिले गाउँ वनमारा घारीले घेरिएको छ । प्राय घरहरु लडिसकेका छन्, केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो वनमारा मात्र भेटिन्छ ।
सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसीत पुरानो गाउँबासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् ।

अहिले उक्त गाउँमा बस्दै आएका ४ घर मध्ये १ घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउनुहुन्छ । नजिकैको महंकला आधारभुत विद्यालयको प्रधानाध्यापकसमेत रहनु भएका रेग्मी घरमा एक्लै बस्दै आउनुभएको छ । परिवारका अन्य सदस्य अन्यन्त्र ठाउँमा बसाइँसराइ गइसकेको र आफु बाध्यताले मात्र बसेको उहाँले बताउनुभयो ।

सोही गाउँमा बस्दै आउनु भएका हर्कराज कार्कीको परिवार बाख्रा पालनको लागि बसेको बताउनुहुन्छ । ‘प्राय सबै गाउँ छाडेर गइसके, केही घर छौँ, त्यो पनि बाध्यताले मात्र बसेका छौँ । रेग्मीटारमा घर बनाइसकेका छौँ, तर यहाँ बाख्रा पालनको लागि मात्र बस्दै आएका छौँ ।’ कार्कीले भन्नुभयो । पुरानो गाउँ छाडेर जाने मुख्य कारण खानेपानी नै रहेको उहाँको भनाइ छ । केही पर रहेको कुमाले गाउँ अवस्थित मसाने खोलाको पानी ल्याएर पुरानो गाउँबासीले प्रयोग गर्दै आएका थिए । पिउनका लागि दिनको २/२ गाग्री मात्र पानी भर्न पाए पनि गाइवस्तुलाई दिन, नुहाउन, कपडा धुनको लागि करीब २/३ घण्टा हिडेर साप्सु खोला पुग्नु पर्ने बाध्यता थियो । पिउनको लागि २ गाग्री पानी लिए वापत पानीको मुहान धनिलाई धान दिनु पर्ने नियम थियो ।

गाउँ नजिक पानीका मुहान नभएर खानेपानीको चरम समस्या भोगिरहेका पुरानो गाउँबासी एकाएक गाउँ छाडेर हिडेका छन् । केही परिवार उदयपुरको गाइघाट, केही परिवार विराटनगर लगायत अन्य स्थान गएका छन् । केही परिवार भने राजापानीकै पुछार रेग्मीटार गएका छन् । अधिकांश ब्यक्तिहरुको भुकम्पबाट पुनर्निमाणमा घर परेपछि रेग्मीटारमा घर बनाएर गएका छन् ।

पुरानो गाउँ (कटहरे) मा बस्दै आउनु भएका अर्का परिवार कमलराज रेग्मीको परिवारलाई भने ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाको भर रहेको सुनाउनुहुन्छ । घर नजिकै जलविद्युत आयोजनाको शव–स्टेशन रहेकाले केही आशाले बसेको रेग्मी बताउनुहुन्छ ।

सगरमाथा राजमार्गले छोएको पुरानो गाउँमा अहिले दैनिक सवारी साधन ओहोरदोहोर गर्छन् । विद्युतको सुविधा पुगेको छ, स्थानीय सरकारले गाउँ भित्र सडकको ट्रयाक पनि खनिदिएको छ । अहिले थोरै घर भएपछि खानेपानीको समस्या पनि केही हदसम्म समाधान भएको छ । तर बस्ती भने रित्तिएको छ । खेतियोग्य बारी वनमारा घारी भएका छन् । गोरखापत्र दैनिक