
खोटाङ, चैत २३ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ आगामि वैशाख ४ गतेबाट हुने भएको छ । जन्तेढुंगा गाउँपालिका–५ खर्क खेलमैदानमा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा ८ समहुले प्रतिस्पर्धा गर्ने छन् ।
जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले गोल्डकपको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ४ गते आयोजक जन्तेढुंगा फुटबल क्लब र न्यु त्रियुगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ५ गते हुने दोस्रो खेलमा बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ क्लबबीच खेल हुँदा तेस्रो खेलमा ६ गते भोजपुर फुटबल संघ र बेल्टार एकता क्लब भिड्ने छन् । पहिलो चरणको अन्तीम खेल ७ गते गोलबजार स्पोट्र्स क्लब र भगवती स्पोट्र्स क्लब मैदान उत्रिने आयोकज जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए ।
वैशाख ८ र ९ गते सेमिफाइनलका खेल हुँदा ११ गते फाइनल खेल हुने खेल तालिका छ । प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विद्यातर्फ बेष्ट स्टाइकर, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजार प्रदान गरिनेछ । खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धनसँगै खेलाडीहरुको क्षमतामा टेवा पुर्याउने उद्वेश्यले गोल्डकपको आयोजना गरिएको आयोजक समितिका सचिव राईले बताए ।
आमन्त्रित गोल्डकपमा खेलाडीहरुको खाने, बस्ने सबै व्यवस्था आयोजकले गर्नुपर्नेहुँदा गोल्डकपमा अनुमानित ४९ लाख लागत लाग्ने देखिएको राईको भनाइ छ । गाउँपालिकाले विशेष सहयोगमा अपुग रकम सहयोगिदाताहरुबाट संकलन भइरहेको सचिव राईले बताए ।

