
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनिहरुको दैनिकीमा सहजता ल्याउन वडाले बिहिबार मिल प्रदान गरेको जनाएको छ ।
चालु आर्थीक वर्ष २०७९\०८० मा वडाबाट विनियोजित २ लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समुहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाले प्रदान गरेको मिल भाडबेँसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमुहरुले पाएका छन् । अन्य आमा समुहले पनि माग गरिरहेकोहुँदा नगरपालिकासँग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो ।
हाल ढिकी जाँतोमा अन्न पिस्दै आएका आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उहाँको भनाइ छ । कुटानी पिसानी मिलले आमाहरुको घरायसी कामको केही बोझ हटाउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।
