Wednesday, April 15News That Matters

दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

ताला लगाइएका औषधि पसलहरु

खोटाङ, चैत २४ । दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।

बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो ।

बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।