खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ ।
केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो ।
गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा हुने सांगीतिक कार्यक्रमको प्रवेश शूल्क ३०० देखि ५०० सम्म राखिएको राईको भनाइ छ ।