Friday, April 17News That Matters

नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक


खोटाङ, वैशाख ३ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित भाषा आधारभुत विद्यालयमा खटिएर गएका स्थायी शिक्षकलाई हाजिर गर्न रोक लगाइएको छ । गाउँपालिकाले खटाएका दुई जना स्थायी शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले हाजिर गर्न रोक लगाएको हो ।

नेपाल सरकारले लिएको स्थायी परिक्षामा सफल भएर रावा बेसीमा गएका २१ जना शिक्षकलाई चैत २८ गते गाउँपालिकाले आवश्यकताका आधारमा विभिन्न विद्यालयमा खटाएको थियो । अन्य १९ जना शिक्षक खटाएको विद्यालयमा हाजिर भएर पठनपाठन गर्न थालिसकेका छन् । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय नेताको आफन्तको करारको जागिर जाने भएपछि भाषा आधारभुत विद्यालयमा स्थायी शिक्षकलाई हाजिर हुन् रोक लगाइएको बुझिएको छ ।

उक्त विद्यालयमा हाल प्रावि ४ दरवन्दी र निमावि १ राहत दरवन्दी छ । प्राविमा १ जना स्थायी र ३ जना करारका शिक्षक कार्यरत छन् । २ जना स्थायी शिक्षक आउँदा २ जना करारको शिक्षकको जागीर जाने भएको छ । स्थायी शिक्षक आएसँगै खोटाङ जिल्लामा २०७५ साल असार ४ गते यता नियुक्त भएका करार शिक्षकको जागीर जाने भएको हो । जसअनुसार स्थायी शिक्षक आएसँगै भाषा आविमा कार्यरत कविता मगर र गिता पोखरेलको जागीर सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोस तिमिल्सिनाले बताउनुभयो ।

२१ जना स्थायी शिक्षक रावा बेसीमा खटिदा १३ जना करारका शिक्षकको जागीर गएको छ । २१ मध्ये ४ जना सोही करारका शिक्षकले स्थायीमा नाम निकालेका छन् । ३ जना करारको दरवन्दी खालि नै रहेको र १ जनाले बाहिरी जिल्लामा स्थायी नाम निकाल्दा बाकी १३ जनाको जागीर गएको उहाँको भनाइ छ । तर भाषा आविका व्यवस्थापन समितिका अध्यक्ष सन्जिब मगरको भाउजु कविता मगर र नेकपा एमालेका नेता हरी पोखरेलको छोरी गिता पोखरेलको जागीर जाने भएपछि भाषा आवीमा खटिएर गएका स्थायी शिक्षकलाई हाजिर हुन रोक लगाइएको स्थानीयको भनाइ छ ।

जागीर गएका उक्त दुई शिक्षकलाई अन्त कुनै ठाउँमा व्यवस्थापन नगरेसम्म स्थायी शिक्षकलाई हाजिर गर्न नदिने भन्दै स्थानीय प्रतिपक्षको तर्फबाट हरी पोखरेल र वि.व्य.स अध्यक्ष सन्जिव मगरले पालिकामा निवेदनसमेत दिएको पाइएको छ । जालपा मावि नुनथला र कोइराले आवि खार्पामा राहत कोटा खाली भएको हुँदा उक्त विद्यालयमा सिफारिस गर्दिन निवेदनमा माग गरिएको छ । तर भाषा आधारभुत विद्यालयका प्रधानाध्यापक केशव प्रसाद पोखरेलले सिफारिस नदिएको आरोप निवेदनमा छ । करार एवं राहत कोटामा खुला परिक्षाबाट शिक्षक नियुक्त गर्ने नेपालको शिक्षा कार्यविधि छ । कुनै विद्यालयले सिफारिस गर्दैमा करार वा राहत कोटामा नियुक्ति दिन मिल्ने व्यवस्था छैन् ।

स्थायी शिक्षकलाई हाजिर गराउने पक्षमा आफु रहेको तर वि.व्य.स अध्यक्ष मगरले हाजिर गर्न नदिएको प्रधानाध्यापक पोखरेलको भनाइ छ । यता अध्यक्ष मगरले भने जागीर जान लागेका करारका शिक्षकलाई अन्य ठाउँमा व्यवस्थापनको माग गरेर हाजिर हुन रोक लगाइएको बताउनुभएको छ । सोमबार बैठक बसेर थप निर्णय गर्ने उहाँको भनाइ छ ।

वि.व्य.स अध्यक्षको भाउजु र नेताको छोरीको जागीर जाने भएपछि स्थायी शिक्षकलाई हाजिर हुन नदिएकोमा आपक्ति जनाउदै स्थानीय कालिदाश पोखरेलको नेतृत्वमा ८७ जना अभिभावकले पालिकामा आइतबार निवेदनसमेत दिएका छन् । आफन्तको जागिर जोगाउने नाममा स्थायी शिक्षकलाई हाजिर हुन नदिदा विद्यालयको दरवन्दी अन्त जाने, विद्यालयको पठनपाठनमा समस्या हुने भन्दै खटिएका शिक्षकलाई विद्यालयमा हाजिर हुने वातवरण मिलाउन निवेदनमा माग गरिएको छ ।
विद्यालयमा व्यवस्थापन समितिले हाजिर हुन नदिएपछि भाषा आविमा खटिएका शिक्षकहरु कमला चौहान र बलराम राई हाल गाउँपालिकाको कार्यालयमा हाजिर गरिरहनुभएको पालिकाले जनाएको छ ।