Saturday, July 27News That Matters

मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा


खोटाङ, वैशाख ११ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख सरुवा भएर गएपछि लामो समयसम्म मालपोत कार्यालय प्रमुह बिहिनहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

प्रमुख नहुँदा हाल मालपोतमा राजिनामा, दृष्टिबन्दक, बकसपत्र, लगायतका सामान्य कामहरु मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्वपुर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुरानो घर भएका मनिकुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात गाउँको जग्गा आमाको नाममा नामसारी गर्न वैशाख २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् । पुरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाडै आउने कार्यालयका कर्मचारीबाट आश्वासन पाएका राई करीब १० दिनदेखि कुरेर बसेका छन् ।

यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आएका निमातेम्मा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताउँछन् । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उनको गुनासो छ । आज, भोली भन्दा भन्दै एक साता कुर्दा पनि काम नबनेको शेर्पाको भनाइ छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख बिहिन हुनु राज्यको ठुलो लापारबाही भएको शेर्पा बताउँछन् ।

निवर्तमान कार्यालय प्रमुख धर्मराज आचार्य गत चैत २९ गते सरुवा भएर खोटाङबाट विदा भएका छन् । उनको ठाउँमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोजपुर जिल्ला मालपोत कार्यालय प्रमुखमा कार्यरत रविन मगरलाई खोटाङ पठाएको पाइएको छ । मालपोत कार्यालय खोटाङमा नयाँ कार्यालय प्रमुख आउने भन्दै विभागले वैशाख ४ गते पत्रसमेत पठाएको छ । तर खोटाङ सरुवा भएका मगर हालसम्म कार्यालयमा उपस्थित भएका छैनन् ।

निमित्त कार्यालय प्रमुखको जिम्मा पाएका जगत श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्मालि रहेका छन् । तर विभागले निमित्त मात्रै दिएको पुरा अख्तियारी नदिएको कारण नामसारी, नाम संसोधन, अर्धन्यायिक लगायतका महत्वपुर्ण कामहरु गर्न नमिल्ने श्रेष्ठले बताए । निमित्तले अख्तियारी नपाउदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरु निराशहुँदै फर्किने गरेका छन् । जिल्लामै बसोबास गर्नेहरु घर फर्किए पनि जिल्ला बाहिर अर्थात टाढाबाट आएका सेवाग्राहीहरु कार्यालय प्रमुखलाई पर्खिएर दिक्तेलमै बस्न बाध्य छन् । प्राय सेवाग्राहीको भिड भइरहने मालपोत कार्यालय प्रमुख बिहिनहुँदा कामविहिन जस्तै सुनसान बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *