Thursday, April 16News That Matters

गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान


खोटाङ, वैशाख १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान चलाएको छ । अधिकांश गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएपछि गाउँपालिकाले खोप अभियान चलाएको हो ।

पालिका भित्रका ६ वटै वडाका किसानले पालेको गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, र्‍याल काड्ने लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको पालिकाका पशु शाखा प्रमुख आशिस बन्जराले बताउनुभयो । उक्त रोगको हालसम्म खोप पत्ता नलागे पनि पशुको लक्षणसँग मिल्दोजुल्दो औषधि उपचार गरिरहेको उहाँको भनाइ छ ।

किसानको घरसम्म पालिकाबाट पशु प्राविधिक पुगेर खोप लगायतको औषधि उपचार गर्ने कार्य भइरहेको छ । हालसम्म सबै वडाका ५ सय २५ गाईगोरुलाई खोप लगाइएको पशु शाखा प्रमुख बन्जराले बताउनुभयो ।

भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा लम्पी स्किन रोग फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाय गाई, गोरु, भैंसी, राँगोमा देखा पर्ने विज्ञहरुको भनाइ छ । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन विकास भएको छैन् ।

लम्पी स्किन रोग लाग्दा पशुचौपायामा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिन्छन् । लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट सर्ने यो रोगले पशुचौपाया मर्ने सम्भावना भने कमै मात्रामा हुने बताइन्छ ।
लम्पी स्किन रोगको प्रकोप जिल्लाका प्राय सबै पालिकामा फैलिएको छ ।