
खोटाङ, जेठ २४ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशूल्क प्रदान गर्ने १३ प्रकारका खोप केपिलासगढी गाउँपालिका भित्रका सबै बालबालिकाले लगाएसँगै मंगलबार जिल्ला समन्वय प्रमुख सन बहादुर राई, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । घर सर्वेक्षणमा गाउँपालिकाका धेरै बालबालिका खोप लगाउन छुटेको पाइएको छ । उक्त छुटेका बालबालिकालाई यो वर्ष गाउँपालिकाले सबै मात्राको खोप दिएको जनाएको छ ।
० देदि १५ महिनासम्मका २ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र १ जनाको बीचैमा छुटेको पाइएको थियो । उनिहरु ३ जनालाई नै खोपको मात्रा पूर्ण लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शिव कुमार राईले जानकारी दिनुभयो । यस्तै, १६ देखि २३ महिना सम्मको १३ जनाले कुनै पनि खोप नलगाएको र १७ जनाले बीचैमा छाडेको भेटिएको थियो । उनिहरु सबैलाई पूर्ण खोप लगाइएको राईले बताउनुभयो ।
केपिलासगढी गाउँपालिकामा यो एक वर्षमा ० देखि १५ महिनासम्मको २३४ र १६ देखि २३ महिनासम्मको ११० जना बालबालिकाले खोप लगाएका छन् । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणासँगै कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने स्वयंसेविकालाई सम्मान पनि गरिएको छ । यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको पनि छ ।
खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ । यो वर्ष हालसम्म केपिलासगढी गाउँपालिकासँगै, रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता पालिका घोषणा गरिसकेका छन् ।
