
खोटाङ, जेठ २४ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्वयंसेविकाहरुको निःशूल्क स्वास्थ्य बिमा गरिएको छ । धितुङ वडा कार्यालयले वडाका सबै १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशूल्क बिमा गरिदिएको जनाएको छ ।
स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर बिमा गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । ‘नागरिकको घरदैलोमा खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वयंसेविकाहरुको आफ्नै स्वास्थ्य जोखिम हुन्छ । त्यसैले उहाँहरुको निःशूल्क स्वास्थ्य बिमा वडाले गरिदिएको छ ।’ अध्यक्ष राईले भन्नुभयो । स्वयंसेविकाहरुलाई बुधबार वडाले एक कार्यक्रमका बीच झोलासमेत बितरण गरेको छ ।
यस्तै, धितुङ स्वास्थ्य चौकीलाई वडाले प्रोजेक्टर र ल्यापटप प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक परेकाले वडाले १ लाख ५० हजार बराबरको १/१ वटा प्रोजेक्टर र ल्यापटप प्रदान गरेको वडाध्यक्ष राईले बताउनुभयो । विद्यालयसँगै विभिन्न सार्वजनिक स्थानमा स्वास्थ्य सम्बन्धि चेतना प्रदान लगायतका काममा प्रोजेक्टर र ल्यापटप आवश्यक पर्ने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।
