Friday, April 17News That Matters

दिक्तेल बजारमा आगो निभाउने यन्त्र, पर्यटन मन्त्री किरातीद्धारा उद्घाटन


खोटाङ, जेठ २५ । खोटाङको दिक्तेलबजारमा आगो निभाउने  यन्त्रको उद्घाटन गरिएको छ । दमकलको विकल्पमा प्रयोग गर्नेगरी अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट) बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको हो ।

आगलागीमा समयमा पाईपबाट पानीको फोहोरा फालेर दमकलकै सट्टामा प्रयोग गर्नेगरी दिक्तेलबजारमा फायर हाइड्रेन्ट बनाइएको छ । आगलागीका बेला पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बनाएको हो ।

दिक्तेल बजारको विभिन्न १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ राखिएको छ । बजारमा आगलागिका ठुला घटना हुन नदिन फायर हाइड्रेन्ट बनाइएको रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयो ।

दिक्तेलबजारको किरातचोक, रत्नपार्क, संगमपार्क, सल्लेरीटोल, त्रिबेणीचोक, बैंकचोक, भानुचोक, हाटडाँडा, अस्पतालचोक र मालपोत कार्यालय नजिक फायर हाइड्रेन्ट गेट भल्भ राखिएको छ । अस्पतालचोक र मालपोत कार्यालय नजिक राखिएका फायर हाइड्रेन्ट गेट भल्भ बाहेक अन्य आठ गेट भल्भमा चौबिसै घण्टा पानी उपलव्ध हुने अध्यक्ष जोशीको भनाइ छ । फायर हाइड्रेन्टको उपयोगका लागि पाँच वटा पाईप खरिद गरिएको छ । फायर हाइड्रेन्ट प्रयोग प्रयोग गरेर आगो निभाउनका लागि बजारका स्थानीयलाई प्रशिक्षण दिने तयारी गरिएको बताइएको छ ।