
खोटाङ, जेठ २७ । स्वास्थ्य बीमा गरेकाहरुले अब हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमबाट पनि सेवा लिन पाउने भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार बीमा गरेका ब्यक्तिहरुलाई नगर अस्पताल दुर्छिमबाट सेवा दिने गरी सुरु गरिएको हो ।
एक परिवारले ३५ सयमा स्वास्थ्य बीमा गरेर एक वर्षसम्म एक लाख बराबरको उपचार सेवा लिन पाउने व्यवस्था छ । यस अघि हलेसी तुवाचुङ नगरपालिकाका नागरिक उक्त सेवा लिन जिल्ला अस्पताल दिक्तेल, छिमेकी जिल्ला ओखलढुंगासँगै अन्यन्त्र जिल्ला जानु पर्ने बाध्यता थियो । शनिबार एक कार्यक्रमकासाथ नगरपालिकाले नगर अस्पताल दुर्छिमबाट उक्त सेवा दिन सुरु गरेको हो ।
नगरपालिकाको जोडबलले दुर्छिमबाट स्वास्थ्य बीमा गरेकाहरुलाई मापदण्ड अनुसारको निःशूल्क सेवा प्रदान गर्न सुरु गरिएको मेयर विमला राईले बताउनुभयो । नगर अस्पताल दुर्छिमबाट प्रथम सेवा विन्दुको कार्यक्रम सुरु भएसँगै नागरिकले घरआगनमै सेवा लिन पाउदा हर्षित भएका छन् ।
चालु आर्थिक वर्षमा नगरपालिकाले १ सय २० जनाको निःशूल्क स्वास्थ्य बीमासमेत गरिदिएको छ । वुबाआमा गुमाएका बालबालिका र विधुर पुरुषहरुको निःशूल्क बीमा गरिदिएको नगरपालिकाले जनाएको छ । एकल पुरुष, एकल महिला, अपा)गता भएका ब्यक्ति लगायतहरुको निःशूल्क बीमा गरिदिने प्रावधान नगरपालिकाको रहेको मेयर राईले बताउनुभयो ।
यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले खरिद गरेको एम्बुलेन्स शनिबारबाट सञ्चालनमा आएको छ । केही दिन अघि नगरपालिका आइपुगेको एम्बुलेन्स भाडादर कायम गरेर शिनबार औपचारिक कार्यक्रमकासाथ उद्घाटन गरिएको हो ।
उद्घाटनसँगै जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्सको सेवा नगरपालिकाका नागरिकले अब लिन पाउने भएका हुन् । आवश्यक उपकरण र औषधिसहितको ख वर्गको एम्बुलेन्सबाट सुलभ दरमा नगारिकले सेवा पाउने व्यवस्था मिलाइएको मेयर राईले बताउनुभयो । अन्य बिरामीको लागि सुलभ भाडादर कायम गरिएको छ भने गर्भवती महिला र बेबारिसे ब्यक्तिको लागि निःशूल्क छ ।

यस्तै, शनिबार नगरपालिकाको प्रांगणमा भएको कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिका भित्रका ० देखि १५ तथा १६ देखि २३ तथा महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ ।
यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ वटा विद्यालय र ६ जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कार प्रदान गरेको छ । गत चैत ९–१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गरिएको हो ।
शैक्षिक सत्र २०७९ को कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरपालिकाले (एसईई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जीपीए ल्याएर प्रथम भएकी छन् । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी (३.४४ जीपीए), कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई (३.२९ जीपीए) कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल (३.०३ जीपीए), कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेस दाहाल (३.११ जीपीए) र कक्षा ९ मा महेन्द्रोदय मावि महादेवस्थानका दया राई (३.२१ जीपीए) ल्याएर प्रथम भएका छन् । कक्षागत प्रथम हुने सबैलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान प्रदान गरिएको छ ।
यस्तै, विद्यालयतर्फ कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा खोक्सेली आवि बडहरे (२.२४ जीपीए) प्रथम, बोझेओडार आवि बडहरे (२.२१ जीपीए) दोस्रो र जनचेतना आवि बाहुनीडाँडा (२.०८ जीपीए) ल्याएर तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५०,२० र १० हजार नगद पुरस्कार पाएका छन् ।
कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा डिकुवा आवि डिकुवा (१.३४ जीपीए) प्रथम, शान्ति आवि बडहरे (१ं.२७ जीपीए) दोस्रो र हिमगंगा आवि राजापानी (१.२६ जीपीए) सहित तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५५,२५ र १५ हजार नगद पुरस्कार पाएका छन् ।
कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा सरस्वती मावि अर्खौले (१.०७ जीपीए) सहित प्रथम, कालिका मावि बाहुनीडाँडा (०.९० जीपीए) सहित दोस्रो र बुलापन्थे मावि धितुङ (०.८४ जीपीए) सहित तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने माविलाई क्रमश २ लाख, ५० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
मेयर विमला राईको अध्यक्षतामा शनिबार एकै दिन आयोजना गरिएकोे विभिन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख सनबहादुर राई, उपमेयर रमेश कुमार राउत, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, स्वास्थ्य कार्यालय प्रमुख पुण्य प्रसाद सिक्देल, उद्योग वाणिज्य संघका महासचिव अजय बस्नेत, नगरपालिकाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका जिल्ला प्रतिनिधि तथा नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

