
खोटाङ, जेठ ३० । खोटाङको रावा बेसी गाउँपालिका-१ कुभिण्डेले वडामा सञ्चालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको हो ।
चालू आ.वमा कुभिण्डेमा साना ठुला गरेर ५२ वटा योजनाहरु सञ्चालन भएका छन । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु ४ करोड १८ लाख ४० हजार बजेटको योजना कुभिण्डेमा सञ्चालन भएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको वडाध्यक्ष राईको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझावसमेत लिइएको वडाध्यक्ष राईले बताउनुभयो ।
