
खोटाङ, असार २३ । खोटाङको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाले भन्सार छुटमा २० लाखमा खरिद गरेर शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्समार्फत गर्भवती महिलाहरुले निःशूल्क सेवा पाउने छन् । खोटेहाङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थासम्म गर्भवती महिलाहरुलाई एम्बुलेन्सले निःशूल्क सेवा दिने गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । अवस्था जटिल भएर काठमाण्डौ लानु परेमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत गर्भवती महिलाहरुले सेवा पाइरहेका छन् । तसर्थ पालिका भरीका स्वास्थ्य संस्थामा लान एम्बुलेन्स निःशूल्क गरिएको उहाँको भनाइ छ । यदि जिल्ला सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला भोजपुर, उदयपुरको गाइघाटसम्म लानु पर्ने अवस्था आएमा पनि गर्भवती महिलाको लागि एम्बुलेन्स निःशूल्क हुने अध्यक्ष राईले बताउनुभयो ।
केही समय अघिसम्म युके समाजले सहयोग गरेको एम्बुलेन्स खोटेहाङ गाउँपालिकामा सञ्चालनमा थियो । तर हाल उक्त एम्बुलेन्स बिग्रीएर थन्किएकोहुँदा जटिल अवस्थाका बिरामीहरुलाई अस्पताल लान नसक्ने अवस्था नागरिकमा थियो । महंगो भाडा तिरेर गाडीमा अस्पताल बिरामी लानु पर्ने नागरिकको समस्या गाउँपालिकाले खरिद गरेको एम्बुलेन्सले अन्त्य गर्ने गाउँपालिका उपाध्यक्ष रुपेश राईको विश्वास छ । एम्बुलेन्स नहुँदा जटिल अवस्थाका बिरामीहरुलाई धेरै पटक जनप्रतिनिधि चड्ने गाडीमार्फत उद्धार गरिदै आएको उपाध्यक्ष राईले बताउनुभयो ।
गर्भवती महिलाको लागि निःशूल्कसँगै अन्य बिरामीको लागि पनि तेल खर्चमात्र उठ्ने भाडादर राखिने उहाँको भनाइ छ । चालकलाई तलब र मर्मत खर्च गाउँपालिकाले बेहोरेर तेल खर्च उठ्ने गरि भाडादर कायम गरेर नागरिकलाई सुलभमा एम्बुलेन्स सेवा सञ्चालन गरिने उपाध्यक्ष राईले बताउनुभयो । सोही अनुसार एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण भइरहेको उहाँको भनाइ छ ।
