Saturday, April 18News That Matters

रावाबेसीमा कक्षा १२ सम्मको शिक्षा निःशूल्क गरिने, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति


खोटाङ, असार २० । खोटाङको रावा बेसी गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशूल्क गर्ने भएको छ । कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशूल्क गरिने पालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नेपालको संविधान बमोजिम माध्यमिक तह कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशूल्क गरिने उल्लेख छ । संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क भनिएपनि कक्षा ११ र १२ मा विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क लिने गरेका छन् । आगामी आर्थिक वर्षबाट पूर्णरुपमा निःशूल्क गराउने रावा बेसी गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, दलित, जेहेन्दार, विपन्न र बहुमुखी प्रतिभा भएका विद्यार्थी छनौट गरी प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ । विद्यार्थीको संख्या भने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन् । यस्तै, गाउँपालिकामा उत्पादित छालाका जुत्ता र खाँडीका तथा अन्य कपडालाई विद्यालय पोशाकको रुपमा लागू गर्ने जनाइएको छ ।

कक्षा ५ देखि ९ सम्मको परिक्षा पालिका स्तरीय गरिने बताइएको छ । प्रश्नपत्र निर्माण देखि उत्तर पुस्तिका परिक्षणसम्म पालिकाको मातहतमा हुने नीति तथा कार्यक्रममा भनिएको छ । यस्तै, बाकी रहेका सबै सामुदायिक विद्यालयका कक्षा कोठाको भुइँ ढलान गरी धुलो मुक्त बनाइने जनाइएको छ ।

निःशूल्क एम्बुलेन्स सेवा

रावा बेसी गाउँपालिकाले पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका जेष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । त्यस्ता ब्यक्तिहरुलाई पालिका भरिका स्वास्थ्य संस्थामा जान निःशूल्क सेवा प्रदान गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, गाउँपालिकाले सुत्केरी जाँचका लागि नोटिफिकेशन पठाउने मोवाइल एप्लिकेशन प्रयोगमा ल्याउने जनाएको छ । विपन्न परिवारलाई परिचय पत्र वितरण गरेर त्यसको आधारमा स्वास्थ्य संस्थामा विशेष छुट दिने व्यवस्था मिलाउने नीति पालिकाको छ । यस्तै, गाउँपालिका केन्द्र हरमटारमा सञ्चालन भइरहेको ५ शैयाको अस्पतालमा ल्याबलाई व्यवस्थित गर्दै इसिजि र एक्सरेसमेत सञ्चालनमा ल्याउने बताइएको छ ।

विधुर भत्ता ५० प्रतिशत वृद्धि

चालु आर्थिक वर्षबाट रावा बेसी गाउँपालिकाले प्रदान गर्न थालेको विधुर भत्ता ५० प्रतिशतले वृद्धि हुने भएको छ । पालिकाले यो वर्षबाट ४५ वर्ष माथिका विधुर पुरुषलाई मासिक १ हजार भत्ता दिन थालेको छ । आगामी आर्थिक वर्षबाट ५० प्रतिशत वृद्धि गरेर भत्ता वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै वडामा योजना सम्झौता

रावा बेसी गाउँपालिकाले आमागी आर्थिक वर्ष वडामै गएर योजना सम्झौता गर्ने भएको छ । योजना सम्झौताका लागि प्रत्येक वडामा २ दिन योजना शिविर सञ्चालन गर्ने जनाइएको छ । बिजुले–लेकखर्क, लामिडाँडा–खार्पा, कुभिण्डे–डुम्रेधारापानी–दुवेकोल सडकलाई संघीय सरकारसँग सहकार्य गरेर सुरु गर्ने बताइएको छ ।

यस्तै, तेलमा आत्मनिर्भर हुन पालिकाले चालु आर्थिक वर्षबाट सुरु गरेको तोरी खेती कार्यक्रमलाई थप व्यवस्थित गर्दै तेल पेल्ने मेशिन स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।