Saturday, April 18News That Matters

केपिलासगढी गाउँपालिकाले कृषकका कृषि उपज भण्डारण र बजारीकरण गरिदिने

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष समिर राई

खोटाङ, असार २० । खोटाङको केपिलासगढी गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरण गरिदिने भएको छ । कृषि उपजको बजार नभएको भन्ने कृषकको गुनासो आएकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषकहरुको गुनासोलाई सम्बोधन गरेको छ ।

गाउँपालिका अध्यक्ष समिर राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकामा रहेको पुरानो भवनहरुलाई मर्मत गरी कृषि संकलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइने उल्लेख छ । पालिका भरिका कृषकले उत्पादन गरेका कृषि उपज उचित मुल्यमा खरिद गरेर उक्त संकलन केन्द्रमा जम्मा गर्ने गाउँपालिकाको नीति छ । आगामी आर्थिक वर्ष भित्रै शीत भण्डारसमेत व्यवस्थापन गरिने बताइएको छ ।

चालु आर्थिक वर्ष बाटै तोरी तेलमा आत्मनिर्भर बनाउने योजना बनाएको पालिकाले आगामी वर्ष अझै उत्पादन बृद्धि गर्न व्यवस्थापन गर्ने र उत्पादनको आधारमा पुरस्कार प्रदानको नीति अपनाउने जनाएको छ । यस्तै, प्राङगरिक मल उत्पादनमा जोड दिएर सबै वडालाई रासायनिक मल निषेधित वडा घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकामा रहेको ढाका, अल्लोको कपडा, लोक्ताको हाते कागज निर्माणलाई निरन्तरता दिदै बजारीकरणसमेत पालिकाले गरिदिने बताइएको छ ।

२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा
सामुदायिक विद्यालयका दलित, जेहेन्दार, विपन्न र बहुमुखी प्रतिभा भएका १/१ जना छात्रछात्रालाई प्राविधिक शिक्षा अध्ययन गराउने बताइएको छ । हाल १८ महिने प्राविधिक शिक्षाको लागि दिदै आएको अध्यक्ष प्राविधिक छात्रवृत्ती आगामी वर्षदेखि ३ वर्षे डिप्लोमा तहलाई प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाले आचु आर्थिक वर्षबाट सुरु गरेको बुहारी शिक्षालाई अझै व्यवस्थित बनाएर लाने जनाएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशूल्क अभ्यास पुस्तिका, २ जना उत्कृष्ट शिक्षक र उत्कृष्ट गुणस्तर सम्पादन गर्ने विद्यालयलाई पुरस्कार प्रदान गर्ने बताइएको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने १/१ जना छात्रछात्रालाई १/१ लाख पुरस्कार प्रदान गर्ने यो वर्षको कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।

गर्भ जाँच गर्दा १ प्याकेट नुन र १ क्यारेट अण्डा उपहार
केपिलासगढी गाउँपालिकाले गर्भवती महिलालाई प्रोत्साहन गर्न नियमित गर्भ जाँच गर्नेलाई नुन र अण्डा दिने नीति अपनाएको छ । कार्यविधि निर्माण गरेर आगामी आर्थिक वर्षबाट प्रत्येक गर्भवती जाँचमा १ प्याकेट नुन र १ क्यारेट अण्डा प्रदान गर्ने बताइएको छ । यस्तै स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई पाँच हजार बराबरको जनप्रतिनिधि नांग्लो कार्यक्रमको कार्यविधि बनाइ कार्यन्वयनमा ल्याउने उल्लेख छ ।

यस्तै, गाउँपालिका भित्रका अपांग, जेष्ठ नागरिक र गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताइएको छ । जेष्ठ नागरिक, अपांग, अशक्त र दीर्घरोगीको घरघरमै गएर निःशूल्क स्वास्थ्य परिक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।