
खोटाङ, असार २० । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरमा रोपाइँ गर्न तयार पारिएको खेत पहिरोले पुरेको छ । साउनेचउरस्थित भदौरेका तेजबहादुर मगरको करीब १२ मुरी धान फल्ने खेत पहिरोले पुरेको हो ।
आली लगाएर, बिउ उखेलेर धान रोप्न तयार पारिएको खेत मंगलबार राती माथी बाट आएको पहिरोले पुरिदिएको साउनेचउरका वडा सदस्य विमला मगरले बताउनुभयो । सडक माथीबाट झरेको पहिरोले सडकसँगै तेजबहादुर मगरको करीब १२ मुरी धान फल्ने खेत पुरेको उहाँको भनाइ छ । पुरिएको खेत भन्दा केही तल गोठ रहेकाले गोरु बचेका छन् । खेतमै छाडिएको कोदाली, हलो जुवासमेत पुरिएको छ ।
यस्तै, सोही ठाउँका कुमार मगरको घरमा पहिरोले क्षति पुराएको छ । घर माथिको बारीको कान्लो खस्दा मगरको घरमा क्षति पुगेको हो । बारीको कान्लोले घरको मुनी तलाको गारो भत्काएको छ । घर नजिकैको ९ वटा कुखुरासहितको खोर पुरिएको वडा सदस्य मगरले बताउनुभयो । नयाँ घरमा पहिरोले क्षति पुराएपछि हाल कुमारका परिवार नजिकै रहेको अर्को पुरानो घरमा बस्दै आएका छन् ।
वडामा पहिरोले पुराएको क्षतिको स्थलगत अवलोकन गरेर राहतको लागि पहल गरिने वडाध्यक्ष तारा कुमार राईले बताउनुभयो । प्रहरीसहित घटना स्थलमा पुगेर क्षतिको विवरण लिने तयारी भइरहेको उहाँको भनाइ छ ।
