Saturday, April 18News That Matters

ऐसेलुखर्क गाउँपालिकाले प्राविधिक शिक्षा पढ्ने २ जना विद्यार्थीलाई १० लाखसम्म सहयोग गर्ने

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई

खोटाङ, असार १९ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई ५ देखि १० लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । महिला, दलित, जेहेन्दार, विपन्न तथा गरिब, अल्पसंख्यक र जनजाती २ जना विद्यार्थीलाई १० लाखसम्म आर्थिक सहयोग प्रदान गर्ने नीति गाउँपालिकाले लिएको हो ।

गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा (एम.बि.बि.एस, बि.डि.एस, बि.पि.एच र इन्जिनियरिङ) प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने २ जना विद्यार्थीलाई ५ देखि १० लाखसम्म आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

यस्तै, शिक्षा क्षेत्रमा गाउँपालिकाले दिवा खाजामा अखाद्य वस्तुलाई निरुत्साहित गरी गाउँमै उत्पादित खाजालाई जोड दिने भएको छ । निःशूल्क वितरण हुने सेनिटरी प्याड कार्यक्रमलाई थप व्यवस्थापन गर्ने र आर्थिक वर्ष २०८०/०८१ भित्र ऐसेलुखर्क गाउँपालिका भरीका सामुदायिक सबै विद्यालयमा इन्टरनेट पु¥याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अति विपन्न र विपन्न परिवारलाई परिचय पत्र

ऐसेलुखर्क गाउँपालिकाले अति विपन्न र विपन्न परिवारलाई परिचय पत्र वितरण गर्ने भएको छ । उनिहरुले परिचय पत्रको आधारमा स्वास्थ्य संस्थामा विशेष छुट पाउने छन् । पूर्ण अपांग, अतिअशक्त, ८० वर्ष माथिका जेष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवती महिलालाई गाउँपालिका भरिका स्वास्थ्य संस्थामा निःशूल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिका स्तरीय चलिरहेको अस्पतालको व्यवस्थापन गर्दै ल्याबलाई व्यवस्थित बनाइ इसिजि र एक्सरे सञ्चालनमा ल्याउने भनिएको छ । इसिजि गर्न र भिडियो एक्सरे गर्न सहजता प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाको पैसा जनताको घरसम्म

ऐसेलुखर्क गाउँपालिकाले पालिकाको पैसा जनताको घरसम्म भन्ने नीति लिने भएको छ । आगामि आर्थिक वर्षदेखि ठुला सडक र जटिल प्रकृतिका काम बाहेक कृषि सडक निर्माणमा एस्काभेटर प्रयोग कम गर्ने जनाएको छ । उपभोक्ताबाटै कृषि सडक निर्माण गरी पालिकाको पैसा जनताको घरसम्म पु¥याउने व्यवस्था लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।