
खोटाङ, असार २४ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा नम्बर ६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करीब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको छ ।
सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो । आगामी दिनमा आन्तरिक पर्यटकको बृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने स्थानीय उत्तम खड्काको भनाइ छ ।
यो वर्ष ७ हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले अन्य वर्ष बिरुवा थप्दै जाने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बिरुवा रोप्ने खाडल खनिएको थियो । उक्त खाडलमा गाउँपालिकाबाट चालू आर्थिक वर्षमा विनियोजन भएको रु ४ लाख बजेटबाट बिरुवा र मल खरिद गरेर रोपिएको अध्यक्ष राईले बताउनुभयो ।

मैसाङ डाँडाको बाकी रहेको जग्गा ब्यक्तिगत रहेकाले गाउँपालिकाले लिजमा लिएर चियाका बिरुवा थप्ने योजना बनाएको छ । सुम्निमा पारुहाङ पार्क अवलोकन गर्न, फोटो खिच्न, टिकटक बनाउन अहिले मैसाङ डाँडामा आन्तरिक पर्यटकहरु जाने गर्छन । केही वर्ष पश्चात चियाको बगानले आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको विश्वास छ । मैसाङ डाँडालाई पर्यटकीय स्थल निर्माणसँगै चिया खेतीबाट स्थानीयलाई रोजगारी दिने गाउँपालिको लक्ष्य रहेको पालिका अध्यक्ष राईले बताउनुभयो ।

