Thursday, April 16News That Matters

दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ

असार २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ रहेका छन् । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे स्थायी घर भएका गुरुङ हाल काठमाडौ बस्दै आएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको बताइएको छ ।

उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए ।

व्यवसायी प्रसाईंलाई अपरिचित नम्बरबाट तीन हप्ताअगाडि फोन आयो । फोन गर्ने व्यक्तिले सीधै भने– तपाईंको हत्या योजना छ । ज्यानको माया छ भने ३० करोड रूपैयाँ ठीक पार्नुस् ।

धम्कीबाट अलिकति तर्सिए पनि प्रसाईं हड्बडाएनन् । उनले तत्कालै प्रहरीमा जानकारी गराए । सीडीओ कार्यालयदेखि हनुमान ढोकासम्म पुगे । हनुमानढोकाले वानेश्वर वृत्तलाई लेख्यो । साइबरब्युरोमा पनि कुरा पुग्यो । तर, यो प्रक्रियाबाट जाँदा ढिलासुस्ती हुने देखेपछि प्रसाईँ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा गए ।

सीआईबीका डीएसपी रुगम कुँवरले यसमा तदारुकताका साथ एक्सन लिएको प्रसाईँ बताउँछन् । उनले  धम्की दिनेलाई २४ घन्टाभित्र पक्राउ गर्ने आश्वासन दिए । यता धम्की दिनेले लगातार फोन र म्यासेज गरिरहेको थियो । सुरूमा त प्रसाईं आफैंले उसलाई मुख छाडेर गाली गरे । तर, धम्की दिने व्यक्ति हच्किएन । त्यसपछि उनले अर्को योजना बनाए । आफूले ५ करोडसम्म दिन सक्ने बताए । उसले ‘लास्ट ६ करोड’ भन्यो । तर, प्रसाईँ मानेनन् । अन्तमा ५ करोडकै सहमति भयो ।

‘महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर अगाडि पैसा लिएर आउनुस् । त्यहाँ एउटा गाडी आउँछ । त्यसमा पैसा राखिदिएर जानुस्,’ प्रसाईलाई निर्देशन दिइयो । उनले हुन्छ भने र सीआईबीलाई जानकारी गराए ।

आजै बिहानबाट प्रसाईंका मान्छेहरू उसले भनेको एरियामा परिचालन भइसकेका थिए । ९ बजेतिर प्रसाईं आफैं ‘पैसाको ब्याग’ बोकेर आफ्नो दलबलसहित पूर्वनिर्धारित स्थानमा आइपुगे । फोनमा कुराकानी भइरहेको थियो । सीआईबीको टोली पनि त्यहाँ पुगेर प्रतीक्षामा बस्यो । करिब साढे ९ बजे एउटा गाडी तोकिएको ठाउँमा रोकियो । गाडीभित्र ड्राइभरमात्र थिए । प्रसाईंका कार्यकर्ताले ‘पैसाको ब्याग’ लाई गाडीको डिक्कीमा राखे । त्यसपछि ड्राइभरलाई फोन गर्न लगाइयो । ड्राइभरले पैसा पाएको निश्चित गरे ।

त्यसलगत्तै दुईवटा मोटरसाइकल घटनास्थलमा आए । उनीहरूले बाइकबाट उत्रेर गाडीबाट पैसा निकाल्न खोज्दा प्रहरी र प्रसाईका मान्छेले घेरिहाले । प्रहरीले तीनैजनालाई पक्राउ गरेर लग्यो । प्रसाईले ल्याएको ब्याग पैसाले भरिएको भने थिएन । माथि–माथि केही नोटहहरू हालेर तल कागजहरू खाँदेका थिए । नेपाल प्रेस