Thursday, April 16News That Matters

मझुवागढीलाई फूलको पहाड बनाउन श्रमदानमार्फत १५ हजार बिरुवा रोपियो

मझुवागढी क्षेत्रमा खन्दै फूल रोप्दै, जनप्रतिनिधि, कर्मचारी, सर्वसाधरण लगायत

खोटाङ, साउन १३ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा जनश्रमदानमार्फत फूलका बिरुवाहरु रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकापर्ने मझुवागढी क्षेत्रमा शनिबार बिहान वृहत जनश्रमदानमार्फत करिब १५ हजार फूलका बिरुवा रोपिएको हो ।

मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने नगरपालिकाको अभियान अन्तरगत अघिल्लो वर्ष पनि केही बिरुवाहरु रोपिएका थिए । यस वर्ष भने फूलको पहाड बनाउने योजनालाई वृहतरुपमा अघि बढाइएको छ । करिब २ सय ५० जनाको उपस्थितिमा दिक्तेल बजारको हाडडाँडा देखि कालिका भगवती मन्दिर परिसरसम्म फूलका बिरुवा रोपिएको छ । मझुवागढीको माथिल्लो क्षेत्रसम्म पुग्नको लागि हाडडाँडाबाट निर्माण गरिएको सिढीको वरिपरिहुँदै मन्दिर एवं गुफाको परिसरमा करिब १५ प्रजातिका फूलका बिरुवाहरु रोपिएका छन् ।

श्रमदानमा जिल्ला समन्वय समिति र नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकासँगै विभिन्न कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, शसस्त्र प्रहरी, नेत्र ज्यती संघ, सुभद्रा मदन फाउण्डेसन, आमा समुह, टोल सुधार समिति लगायत बृद्धबृद्धादेखि युवायुवतीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो । मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउन उपस्थित ब्यक्तिहरु खन्न र बिरुवा रोप्न उत्सुक देखिएका थिए ।

बिरुवा रोप्नको लागि सिढी वरिपरिका झाडी केही समय अगाडि फडानी गरिएको थियो । सिढीको वरिपरी केही ठाउँमा बिरुवा रोप्नको लागि खनिएको पनि थियो । अधिकांश ठाउँमा शनिबार नै खन्दै बिरुवा रोप्दै गरिएको छ । विभिन्न संघ संस्था, ब्यक्तिहरु मार्फत जिल्लाका विभिन्न ठाउँबाट फूलका बिरुवा संकलन गरिएको नगरपालिकाले जनाएको छ ।
श्रमदानमा आउनुभएका भएका ७९ वर्षीय मान बहादुर कट्वाल घरबाटै फूलका बिरुवा बोकेर आउनु भएको थियो । आफुहरुले रोपेको फूलले मझुवागढी घुम्न आउने पर्यटकहरुलाई स्वागत गर्ने भन्दै अभियानमा सहभागि हुन पाउदा खुशी लागेको उहाँको भनाइ छ ।

मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनै पर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको उपमेयर विसन राई बताउनुहुन्छ । कसैलाई घुम्न कहाँ जाने भन्ने प्रश्न गर्दा खोटाङको मझुवागढी को नाम आउने गरी उक्त क्षेत्रको सौन्दरीकरण गरिरहेको उहाँको भनाइ छ ।

फूलका बिरुवा रोप्दै जिल्ला समन्वय प्रमुख सनबहादुर राई र दिरुमनपाका मेयर तीर्थराज भट्टराई

नगरपालिकाले नीति तथा कार्यक्रममै समावेश गरेर अघिल्लो वर्ष केही बिरुवा रोपे पनि पुर्ण तयारी नपुग्दा संरक्षण गर्न नसकिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । यस वर्ष २ जना कर्मचारी नै राखेर फूलको संरक्षण गरिने उहाँको भनाइ छ । केही समय पश्चात दिक्तेल बजारबाट ढकमक्क फूल फुलेको देख्न सकिने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । त्यस क्षेत्रका जग्गादातासँगको समझदारीमा फूलको पहाड बनाउने अभियान सुरु गरिएको उहाँको भनाइ छ । फूलको पहाड निर्माण गर्न असर गर्ने भएकाले त्यहाँ वरिपरि भएको ठुला रुखहरु काट्नेसमेत जग्गादातासँग समझदारी भएको मेयर भट्टराईले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यकरण लागि १ करोड ५३ लाख बजेटसमेत विनियोजन गरेको छ । अब चाडै डिपिआर निमार्ण गरेर त्यस क्षेत्रको सौन्दर्य गरिने मेयर भट्टराईले बताउनुभयो ।

कालिका भगवती मन्दिर, दुद्येश्वर गुफा लगायतको धार्मिक तथा पर्यटकीय स्थल रहेको मझुवागढी क्षेत्रमा दर्शन गर्न एवं घुम्न दैनिक पर्यटकहरु आउने गरेका छन् । चारैतिर देखिने अग्लो डाँडा रहेको त्यसक्षेत्रमा सबैतिरका दृश्य अवलोकन गर्न, पिक्निक खान, अध्ययन भ्रमण गर्न मानिसहरु जाने गर्छन । यस्तै, कालिका भगवतीको भाकल पुरा गर्न दैनिकजसो जिल्लाका विभिन्न ठाउँका मानिसहरु आउने गरेका छन् ।

फूलका बिरुवा रोप्दै सशस्त्र प्रहरीको टोली