Thursday, April 16News That Matters

दिप्रुङमा कर्मचारीको करार म्याद थपिएन, ५० वर्ष कटेकालाई ५ लाख अन्यलाई ४५ दिनको तलब दिइने


खोटाङ, साउन १५ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले करारका कर्मचारीहरुलाई उचित सेवा सुविधा दिएर सम्झौता म्याद नथप्ने निर्णय गरेको हो ।

५० वर्ष उमेर कटेका करारका कर्मचारीलाई ५ लाख उपदान दिएर विदा गर्ने कार्यपालिकाले निर्णय गरेको छ । अन्य कर्मचारीलाई डेढ महिनाको तलब बराबरको रकम दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो । पालिकामा कार्यरत कर्मचारीहरुको असार मसान्तमा सम्झौता म्याद सकिएको छ । गाउँ प्रहरी र हलुका सवारी चालकका कर्मचारीको भने म्याद थपिएको छ । पालिका भरिका अन्य ५७ जना कर्मचारीको म्याद कार्यपालिकाको बैठकले नथप्ने निर्णय गरेको अध्यक्ष राईले बताउनुभयो ।

‘कार्यपालिकाको बैठकमा लामो समय देखि करारका कर्मचारीहरुको म्याद थप्ने, नथप्ने भनेर कुरा उठिरहेको थियो । तसर्थ सोमबार बसेको बैठकमा नथप्ने निर्णय गरेका छौँ ।’ अध्यक्ष राईले भन्नुभयो, ‘गाउँपालिकाको कार्य उत्कृष्ट सम्पादनका लागि कर्मचारीहरुको पुनर्ताजगी गर्नु पर्ने समय आएको थियो । त्यसैले आवश्यक सेवा सुविधा दिएर म्याद नथप्ने निर्णय गरेका हौँ ।’

पालिकाले पुनः लिने करारमा कर्मचारीको परिक्षामा उनिहरु सहभागी हुन पाउने कार्यपालिकाको निर्णयमा उल्लेख छ । परिक्षामा सफल भएमा पुनः जागिर जोडिने छ । परिक्षामा असफल भएमा डेढ महिनाको तलब बराबरको रकम दिएर विदा गरिने निर्णय भएको अध्यक्ष राईको भनाइ छ ।