Friday, April 17News That Matters

ऐसेलुखर्कको बौद्ध आविमा नियम विपरीत शिक्षक नियुक्ति, विव्यसको मनोमानी

खोटाङ, साउन १७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बौद्ध आधारभूत विद्यालयमा नियम विपरीत शिक्षक नियुक्ति गरेको पाइएको छ । विस्थापित शिक्षकलाई स्थापित गराउने भन्दै विद्यालयले नियम मिचेर शिक्षक नियुक्ति गरिएको पाइएको हो ।

विद्यालयले गत चैत २३ गते प्राथमिक तहको राहत कोटामा शिक्षक आवश्यकता भनेर सूचना निकाल्यो । जसमा शिक्षक सेवा आयोगको करार सूचिमा रहेका ३ जनाको निवेदन पर्यो । करार सूचिमा रहेका ब्यक्तिको निवेदन परेपछि परिक्षा नगराई स्वत उनै ब्यक्तिलाई नियुक्ति दिने नियम छ । सोही अनुसार नम्बरका आधारमा मिन प्रसाद दाहाले उक्त विद्यालयबाट वैशाख १४ गते नियुक्ति पाएको देखिन्छ ।

शिक्षक सेवा आयोगको परिक्षामा बैकल्पिकमा नाम रहेका दाहालको स्थायी नियुक्ति हुने भएपछि बौद्ध आविमा पुनः सोही शिक्षक कोटा खाली भयो । त्यसपछि विद्यालयले गलत तरिका अपनाएको देखिन्छ । शिक्षक दाहालले जेठ ७ गते नै राजिनामा दिएर गएको विद्यालयका प्रधानाध्यापक बल बहादुर दाहालको भनाइ छ । ७ गते दाहालको राजानिमा आएर कोटा खाली भएको भन्दै विद्यालय व्यवस्थापन समितिको जेठ ९ गते बैठक बसेर विस्थापित शिक्षक कुमार तामाङलाई काममा खटाउने निर्णय गरेको देखिन्छ । तर शिक्षक दाहाल जेठ २६ गतेसम्म विद्यालयमा हाजिर भएको स्थानीय बताउछन् । तामाङको उमेरहद जेठ १४ गतेबाट सकिने भएकाले अगाडीको राजिनामा मिलाएर जेठ ९ गते तामाङलाई विद्यालयले नियुक्ति दिएको समाचार स्रोतको भनाइ छ ।

कुमार तामाङको नागरिकता

 

विद्यालयको निर्णय

जेठ ७ गते तत्कालिन शिक्षक मिन प्रसाद दाहालको राजिनामा आएको भन्दै विद्यालय व्यवस्थापन समितिको ९ गतेको बैठकले राजिनामा स्विकृत गरेर पठनपानमा समस्या हुने भन्दै अर्को शिक्षक राखेको स्पष्ट देखिन्छ । तर ७ गतेनै राजिनामा दिएको भनिएका शिक्षक दाहालले जेठ १४ गते परिक्षा दिन जान बिदा पाउ भन्दै विद्यालयमा निवेदन दिएको पाइएको छ ।

हेर्नुहोस् निवेदन

 

जेठ १४ गते बिदा पाउ भनेर निवेदन दिने शिक्षकले ७ गते राजिनामा दिएको हैन भनेर प्रष्ट हुन्छ । तर प्रधनाध्यापक बल बहादुर दाहालका अनुसार ७ गतेनै राजिनामा आएको हो । स्रोतका अनुसार तामाङको उमेरहद १४ गते सकिने भएकाले ७ गतेको राजिनामा देखाएर ९ गते उनलाई नियुक्ति दिइएको हो । तर तत्कालिन शिक्षक मिन प्रसाद जेठ २६ गतेसम्म विद्यालय आएका छन् ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय अनुसार हालका शिक्षक तामाङ जेठ ९ गतेबाट लगातार हाजिर भएको देखिन्छ । तर उनि २० गते भएको शिक्षक सेवा आयोगको प्राथमिक तहको परिक्षामा सुनसरी पुगेरे परिक्षमा सामेल भएका थिए । हाल उनि ४० वर्ष कटिसके पनि परिक्षाको फम भरेको आधारमा उनले परिक्षा दिन पाएका थिए । तर यता २० गते शनिबार भएपनि १९ र २१ गते उनले विद्यालयमा कसरी हाजिर गरे भन्ने प्रश्न उठ्छ ।

हेर्नुहोस् हाजिरी फायल


स्रोतका अनुसार असार ४ गतेबाट मात्र तामाङ विद्यालयमा भौतिक रुपमा उपस्थित भएका छन् । तर उनको हाजिर जेठ ९ गतेबाट लगातार गरिएको देखिन्छ । तामाङ पहिले सोही विद्यालयमा शिक्षक थिए । विद्यालयमा स्थायी दरवन्दी अनुसार नयाँ स्थायी शिक्षक आएपछि गत चैत २६ गतेबाट उनको जागिर गएको थियो । सोही विस्थापित शिक्षकलाई स्थापित गराउने भन्दै विद्यालयले तामाङलाई सुटुक्क निर्णय गरेर राख्यो । तर विद्यालयमा शिक्षक कोटा खाली भएपछि सूचना निकालेर परिक्षा गराएर शिक्षक राख्नु पर्ने नियम छ । यदि शिक्षक सेवा आयोगको करार सूचीका ब्यक्ति आएमा उनले स्वत नियुक्ति पाउने नियम रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख शैलेन्द्र बहादुर थापा बताउछन् । तर उता विद्यालयले भने कुनै सूचना ननिकाली सुटुक्क शिक्षक राखेको छ ।

स्थायी दरवन्दी आएपछि विस्थापित भएका शिक्षकलाई सोही विद्यालयमा कोटा खाली भएमा स्थापित गर्ने भनेर ऐसेलुखर्क गाउँपालिकाले जेठ २९ गते निर्णय गरेको देखिन्छ । कार्यापालिकाको २९ को निर्णय अनुसरा ३१ गते विद्यालययलाई परिपत्र गरेको देखिन्छ ।

हेर्नुहोस् पालिकाको परिपत्र

पालिकाको निर्णय जेठ २९गते भएको छ, तर जेठ ९ गते नै विद्यालयले शिक्षक भने राखिसकेको छ । पालिकाको निर्णय भन्दै असार १ गते शिक्षक तामाङलाई विद्यालयले नियुक्ति दिएको देखिन्छ, तर पहिले विद्यालयले गरेको निर्णय अनुसार जेठ ९ गतेकै मितिबाट लागू हुने गरी भनेर उल्लेख गरियो । जेठ १४ गतेबाट शिक्षक तामाङको उमेरहद सकिने भएकाले सबै कुरा मिलाएर जेठ ९ गतेदेखि लागू हुने गरी नियुक्ति दिएको प्रष्ट हुन्छ ।

हेर्नुहोस् नियुक्ति पत्र

 

यसरी बौद्ध आधारभूत विद्यालयले नियम विपरीत शिक्षक राख्दा शिक्षक सेवा आयोगको करार सूचिका ब्यक्तिहरु जागिरबाट बञ्चित भएका छन् । विद्यालयले कुनै एक जना ब्यक्तिलाई जागिर लगाउने नियतले गलत कदम चालेको प्रष्ट देखिन्छ । यस विषयको बिरोध गरेका स्थानीय तथा पूर्व वडाध्यक्ष शन्तवीर तामाङ पालिकाकाको न्ययीय समितिमासमेत उजुरी दिएको बताउछन् । तर अहिलेसम्म कुनै छलफल भएको छैन् । यसै विषयमा प्रधानाध्यापकले आफुमाथी हातपात भएको भनेर उजुरी दिएपछि शन्तवीर तामाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमासम्म पुगेका थिए । विद्यालयमा शिक्षक कसरी नियुक्ति भयो भनेर कागजपत्र हेर्न खोज्दा प्रधानाध्यापकले नदिएपछि सामान्य विवाद भएको शन्तवीरको भनाइ छ ।

अघिल्लो स्थानीय सरकारले पनि यसरी नै विस्थापितलाई स्थापित गरेकाले अहिले पनि सोही अनुसार पालिकाकाले निर्णय गरेको ऐसेलुखर्क गाउँपालिका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेतको भनाइ छ । अघिल्लो स्थानीय सरकारले पनि विस्थापित भएकाहरुलाई स्थापित गरेको पाइएको छ । तर पहिले विस्थापित हुने सबै शिक्षकको सूचि तयार पारेर करार सूचिका ब्यक्ति नभएको पाइएपछि विस्थापित शिक्षकलाई जेष्ठताको आधारता स्थापित गरिएको थियो । अहिले भने करार सूचिका ब्यक्तिलाई वेवास्ता गरेर विद्यालयले आफुखुशी शिक्षक नियुक्ति गरेको देखिन्छ ।