Tuesday, December 3News That Matters

डेंगु रोकथामका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’


खोटाङ, साउन १९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि रोकथामका लागि लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको संयुक्त आयोजनामा शुक्रबार लार्भा नष्ट गर्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको छ ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा जनचेतना दिइएको छ । हाल जिल्लमा ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसैले यसलाई बढ्न नदिन सुरुमै रोकथाम गर्न जनचेतना अभियान चलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमचाज आचार्यले बताउनुभयो । लामखुट्टे धेरै देखिएको ठाउँमा विषादी छर्केर मार्ने काम पनि भइरहेको उहाँको भनाइ छ ।

विषादी छर्केर लामखुट्टे मार्दै

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी अर्था बजार क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । त्यसैले यस्ता ठाउँहरुमा पानी जम्न दिनु हुन्न ।

एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।