Tuesday, December 3News That Matters

रावा बेसी नामकरण गरिएको ७ वर्ष पुरा, पालिकामा मनाइयो वार्षिक उत्सव

खोटाङ, साउन २३ । खोटाङको रावा बेसी गाउँपालिकाको नामकरण गरिएको ७ वर्ष पुरा भएको छ । नामकरण गरिएको दिन साउन २२ गते पालिकाकले पहिलो पटक वार्षिक उत्सव मनाएको छ ।

राज्य पुनःसंरचनाको क्रममा २०७३ साल साउन २२ गते तत्कालिन ६ वटा गाउँ विकास समितिलाई मिलाएर रावा बेसी गाउँपालिका नाम र केन्द्र हरमटार राख्न पहल सुरु गरिएको थियो । हाल भएको रावा बेसी गाउँपालिकालाई छुट्टै पालिका घोषणा नगरिएपछि साउन २२ देखि करीब ६ महिना आन्दोलन गरिएको हालका पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको भनाइ छ ।

रावा बेसी गाउँपालिकाका हालका वडाहरु ३ लामिडाँडालाई हलेसी तुवाचुङ नगरपालिकामा, ४ डुम्रेधारापानी र ५ दुवेकोललाई ऐसेलुखर्क गाउँपालिकामा, ६ हौँचुरलाई दिक्तेल नगरपालिकामा, १ कुभिण्डे र २ खार्पा लगायतको गाविस जोडेर महुरेगढी गाउँपालिकामा बनाउने गरी तयारी गरिएको थियो । तसर्थ २०७३ साउन २२ गते कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुरलाई जोडेर रावा बेसी गाउँपालिका निर्माण हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठ लगायतका केही ब्यक्ति छुट्टै स्थानीय तह माग्दै उक्त समय अनशनसमेत बसेका थिए ।

सोही दिनको सम्झनामा सोमबार पालिकाको कार्यालय हरमटारमा सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थितिमा वार्षिक उत्सव मनाइएको छ । कार्यक्रममा गाउँपालिकाको चौतर्फी विकास कसरी गर्ने भन्ने विषयमा छलफलसमेत भएको उहाँको भनाइ छ ।

तत्कालीन समयमा माग राखेर आन्दोलन गरे अनुसार छुट्टै स्थानीय तह घोषणा पनि भयो । तर लामिडाँडा नाम र खार्पा केन्द्र तोकेर पालिकाका घोषणा भएको थियो । ७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले रावा बेसी गाउँपालिका नै नाम राख्ने र केन्द्र कुभिण्डेको हरमटार बनाउने निर्णय गरेका थिए । सोही अनुसार नाम र केन्द्र पनि परिवर्तन भयो ।

तर पहिलेकै नाम र केन्द्र हुनु पर्ने माग राख्दै २०७५ वैसाख ६ गते सर्वाेच्च अदालतलमा रिट दायर भयो । अदालतमा रिट दायर भएपनि रावा बेसी नाम र हरमटार नै केन्द्र राखेर पहिलो निर्वाचित जनप्रतिनिधिले गाउँपालिका सञ्चालन गरेका थिए । ७९ मा भएको दोस्रो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पनि नाम रावा बेसी र केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत जेठ २२ गते रावा बेसी नाम र केन्द्र हरमटार नै रहने सर्वाेच्च अदालतले फैसला गरेसँगै नाम र केन्द्रको अलमल टुंगिएको छ ।