
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन ३१ । वर्षौ अघि ठेक्का लागेका खोटाङका ६ वटा ठुला योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिए पनि जिल्लाका ६ ठुलो योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिन लागेका २ वटा ठुला योजना अपुरै छन् । एउटा देशकै ठुलो योजना अन्योलमा अवस्थामा छ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिन्टार सडक र मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता वर्षौँ अघि लागेको थियो । सम्झौता म्याद सकिए पनि निर्माण कम्पनीको लापारबाहीका कारण अहिले सडकको अवस्था ह्दयवेधी छ । यी दुई सडकमा दिनमा सयौँ यात्रुहरु आवतजावत गर्छन् । तर सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा यात्रुहरुको कन्तबिजोग छ । सडकको अवस्था नाजुकहुँदा बिरामीलाई समयमा अस्पताल लान नसक्ने अवस्था रहेको स्थानीय बताउछन् ।
४९ किलोमिटर महुरे–फोक्सिन्टार सडक कालोपत्रेका लागि दुई खण्डमा ठेक्का लागेको थियो । महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर सडक खण्ड कालोपत्रको ठेक्का भारत कन्ट्रक्शन–मैनाचुली–सिद्धी शाही जेभीले लिएको हो । सम्झौता म्याद सकिएको ३ वर्ष पुग्दा पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । गत पुसदेखि आयोजनाको काम अलपत्र पारेर सबै सामान लिएर निर्माणस्थलबाट ठेकेदार हिडेको छ । रु ४१ करोड ५० लाखमा सिद्धी शाहीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । उक्त २२ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता म्याद ०७७ असार २९ गते नै सकिएको छ ।
निर्धारित समयमा काम गर्न नसकेकोमा सिद्धी शाहीलाई गएको माघमा १४ दिनको १३ लाख ९९ हजार सात सय १९ रुपैयाँ जरिबाना गरिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । यस्तै, सोही सडकको अर्को खण्ड राजापानी (सिमपानी) –फोक्सिन्टार २७ किलोमिटर कालोपत्रे गर्ने जिम्मा देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले लिएको हो । रु ५५ करोड ८७ लाख बजेटमा २०७३ साउन ११ गते ठेक्का सम्झौता गरिएकोमा ०७७ साउन १० गते म्याद सकिएको छ । सम्झौता म्याद सकिएको ३ वर्ष पुग्दा पनि अहिलेसम्म सडकको काम पुरा भएको छैन् । फोक्सिन्टार नकिज सडक खण्डमा कालोपत्रे राख्न सुरु गरेको कम्पनी केही महिनादेखि बेपत्ता छ ।
कालोपत्रे गर्ने ठेक्का लागेको अर्को सडक मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ १० किलोमिटर सडकखण्डको उस्तै बेहाल अवस्था छ । यो सडक खण्डको ठेक्का पनि भारत कन्ट्रक्शन–मैनाचुली–सिद्धी शाही जेभीले लिएको थियो । २०७२ चैत २ गते ठेक्का सम्झौता गरेर ०७५ फागुन ३० गते म्याद सकिएदा पनि सडक कालोपत्रे हुने सुरसार नपभएपछि पुनः म्याद थपिएको थियो । तर पटक पटक म्याद थप्दा पनि निर्माण कम्पनीले सडक अलपत्र पारेपछि मध्यपहाडी राजमार्ग आयोजनाको कार्यालयले ठेक्का तोडेको थियो । तर अदालतले स्टे अर्डर दिएपछि अहिले सडक अन्योल अवस्थामा छ ।
यस्तै, दिक्तेल–आहाले सडक कालोपत्रे हुने ठेक्का लागेको ५ वर्ष नाघिसकेको छ । रु २१ करोड १ लाख ८८ हजारमा २०७५ असोज १ गते ठेक्का सम्झौता भएको यो योजनाको ०७६ चैत ७ गते म्याद सकिएको छ । तर अहिले सडक अलपत्र अवस्थामा छ । जिल्लाको सडक क्षेत्रकै अर्को ठुलो योजना हुर्लुङ–जालपा सडकको सम्झौता म्याद सकिन लाग्दा काम अपुरै छ । रु ११ करोडमा सडक स्तरोन्नति गर्ने ठेक्का लिएको रौताहा सुसम जेभीले सम्झौता म्याद सकिन लाग्दा काम सम्पन्न गर्ने छाँटकाँट देखाएको छैन् । २०७८ असोजमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको म्याद आगामी असोजमा सकिदै छ । केही समय अघिसम्म काम गरिरहेको निर्माण कम्पनी अहिले सुस्ताएको छ ।
यसैबिच, सम्झौता म्याद सकिएको वर्षौँहुँदा पनि जिल्लाका २ वटा पक्की पुल अलपत्र अवस्थामा छन् । एउटा पुलको सम्झौता मिति सकिन लाग्दा काम भर्खर सुरु भएको छ । खोटाङको दक्षिण क्षेत्र बरापोखरी, खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई तराईसँग जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदिमा निर्माण सुरु भएर वर्षौँ देखि पुल अलपत्र छ । रु २२ करोड ५० लाख बजेटमा २०७३ असार ३० गते पुल निर्माण गर्न रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको थियो । ०७६ असार २९ गते ठेक्का सम्झौता मिति सकिएको छ । ठेक्का सम्झौता मिति सकिएको ४ वर्ष कट्दा अहिले पुलको डिजाइन रिभ्यु भइरहेको बताइएको छ । पुल निर्माण गर्न ढिलासुस्ती गरेपछि निर्माण कम्पनीको पेश्की रकमसमेत तानिएको बुझिएको छ ।

यस्तै, तराईसँग जोड्ने अर्को पुल सुनकोशी नदिकै बंशिलाघाटमा निर्माण हुने पुलको सम्झौता म्याद सकिन लागेको छ । पुल निर्माणको काम भने भर्खर सुरु भएको छ । रु १९ करोड १८ लाख ४१ हजारमा ३३ महिनामा सक्ने गरी २०७७ पुस २८ गते निर्माणको जिम्मा एमएस कालिका–बेदासी जेभीले लिएको हो । सम्झौता म्याद सकिन लाग्दा भर्खर फाउण्डेसनको काम सुरु भएको छ ।
यस्तै, मध्यपहाडी राजमार्गमा पर्ने पंखु खोलामा पुल निर्माणको लागि २०७२ असोज ७ गते ठेक्का लागेको थियो । २ करोड २९ लाख बजेटमा ०७३ असोज ७ गते नै काम सम्पन्न गर्नु पर्ने सम्झौता थियो । सुरुको सम्झौता मिति सकिएर पटक पटक म्याद थपिदा पनि सिरुवा कन्ट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न नगर्दा ठेक्का तोडिएको छ । पुनः टेण्डरको पकृयमा रहेको पुल अहिले अलपत्र छ ।
यसैबिच, जिल्लाको सबै भन्दा ठुलो योजना तथा देशकै ठुलो मध्येको एउटा योजना दुधकोशी जलासाययुक्त जलविद्युत आयोजना अन्योल अवस्थामा छ । ६ सय ३५ मेगावट क्षमताको यो जलविद्युत आयोजनाको अहिलेसम्म मुआब्जा निर्धारण हुन सकेको छैन् ।
