Friday, April 17News That Matters

दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग


खोटाङ, साउन ३२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगरकार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालिन प्रधानाध्यापकहरुले निमित्तकोरुपमा विद्यालयको कामकाज गरिरहनु भएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयको “प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि २०८०” अनुसार योग्यता पुगेका इच्छुक उम्मेद्वार तथा शिक्षकले भदौ १३ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उतीर्ण गरेको वा शिक्षकको रुपमा १० वर्ष स्थायी सेवा अवधि पुरा भई स्नातक तह वा सो सरह उतीर्ण गरेको हुनु पर्ने छ । यस्तै माध्यमिक तथा निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा भएको हुनु पर्ने सूचनामा उल्लेख छ ।

यस्तै, आधारभूत तह कक्षा (१–८) को लागि प्रधानाध्यापक हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा भएको हुनु पर्ने छ ।

यस्तै, आधारभूत तह कक्षा (१–५) को लागि प्रधानाध्यापक हुन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहको शिक्षक पदमा कम्तीमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनु पर्ने सूचनामा भनिएको छ । योग्यता पुगेका शिक्षकहरुबाट निवेदन आइसकेपछि लिखित परीक्षा र अन्तरर्वार्ताबाट प्रधानाध्यापक छनोट हुने छन् ।

संघीय शिक्षा ऐन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा ऐनमा ५/५ वर्षमा परिक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने उल्लेख गरेको छ । सोही अनुसार नगरपालिकाले कार्यविधि निर्माण गरेर प्रधानाध्यापक छनोट गर्न लागिएको मेयर भट्टराईले बताउनुभयो । खुल्ला र निष्पक्ष तरिकाले प्रधानाध्यापक छनोट हुने मेयर भट्टराईको भनाइ छ ।

कतीपय ठाउँमा प्रधानाध्यापक नियुत्तिको विषयमा विवाद आइरहदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐन अनुसार कार्यविधि निर्माण गरेर खुल्ला प्रतिस्पर्धा अनुसार प्रधानाध्यापक नियुत्त गर्न लागेको हो । नगरपालिकाको यो कार्यमा शिक्षकहरुको छाता संगठन शिक्षक महासंघ साथै अन्य विभिन्न शिक्षक संगठनहरुले प्रशंसा गरेका छन् । यस प्रक्रिया अनुसार देशका केही स्थानीय तहहरुले मात्र प्रधानाध्यापक नियुक्ति गरेका छन् । हालसम्म कोशी प्रदेशका कुनै पनि स्थानीय तहले यसरी शिक्षा ऐनलाई टेकेर कार्यविधि निर्माण गरेर प्रधानाध्यापक नियुक्ति गरेका छैनन् ।

हेर्नुहोस् सूचना,