Saturday, July 27News That Matters

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

 

राई बुवा छोराको कालिज फर्मका कालिज ।

राजकुमार भट्टराई (सरगम)

खोटाङ, भदौ ११ । कालिज भन्ने बित्तिकै हाम्रो दिमागमा कुनै जंगल आउछ । त्यो स्वभाबिक पनि हो, किनकी हामीले कालिज प्राय जंगलमा देखेका छौँ । तर पछिल्लो समय व्यावसायिकरुपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा बिगत २ वर्षदेखि कालिज पालन सुरु भएको हो ।

सुन्तलेका चन्द्रमणी राईको परिवारले यतिबेला व्यावसायिक रुपमा कालिज पालन गरिरहेका छन् । पहिले खेती हुने जग्गा काम गर्ने मान्छे नहुँदा बिस्तारै जंगलमा परिणत भयो । अहिले त्यही जंगलभित्र कालिज पालन र होमस्टे सञ्चालन भइरहेको छ ।
सुन्तलेको हर्रेचुङ डाँडामा रहेको आफ्नो नम्मबरी जग्गामा चन्द्रमणीले होमस्टे सञ्चालन गर्ने अनि पाहुनालाई अर्गानिक खाना खुवाने सोँच बनाएको बताउनुहुन्छ । सोही समयमा जापानमा रहेका उहाँको छोरा मुकेश राई पनि गाउँमै उद्यमी बन्ने सपना लिएर नेपाल फर्कनु भयो । त्यसपछि सोही ठाउँमा कालिज पाल्ने अनि होमस्टे पनि सञ्चालन गर्ने बुवा छोराको सपना यतिबेला साकार भएको छ ।
जंगलको बीचमा कालिजका लागि तारजाली बारेर पहिलो वर्ष २०७८ सालमा पोखराबाट ६०० कालिजका चल्ला ल्याएर लगाएको चन्द्रमणी बताउनुहुन्छ । त्यसपछि कालिजका चल्ला हुर्कदै गए, होमस्टे पनि तयार हुँदै गयो । बराहपोखरी–धाप्लाङ–गाइघाट सडकको यात्रा गर्ने जोकोही अहिले सुन्दलेको हर्रेचुङ डाँडामा पुगेपछि पक्कै एकछिन रोकिन्छ । सबैको नजर जंगलबीचमा रहेको काठको एउटा चिटिक्कको घरमा ठोकिन्छ ।

राई वुबा छोराको निर्माणधिन होमस्टे ।

होमस्टेमा आउने पाहुनालाई अर्गानिक कोदाको ढिडो र कालिजको मासु खुवाउने योजनाका साथ लागि परेका राई परिवार पहिलो वर्ष होमस्टे निर्माण पुरा नभएपछि कालिज बिक्री गरेको बताउनुहुन्छ । भाले कालिज २८ सयसम्म र पोथी कालिज २५ सयसम्ममा बिक्री गरेको उहाँको भनाइ छ । त्यसपछि अर्को वर्ष भने आफैले चल्ला उत्पादन गरेर लगाएको चन्द्रमणी बताउनुहुन्छ ।
अहिले होमस्टेमा पाहुनाहरु फाट्ट फुट्ट आउने गरेका छन् । अझै पनि होमस्टेको पुरै व्यवस्थापन भइसकेको छैन् । अहाल २ रोपनी क्षेत्रफलमा कालिज पालन गरिएको छ । आफ्नो नाममा रहेको पुरै ८ रोपनी क्षेत्रफलमा व्यवसाय गर्ने सोँच बुवा छोरामा छ । कालिज पाल्ने, माछा पाल्ने अनि होमस्टे चलाउने ।
मानिसलाई एक, दुई दिनसम्म पारिवारिकरुपले बसेर समय कटाउने ठाउँ अनि प्रकृतिको अवलोकन गर्न र आनन्द लिदै अर्गानिक खाना खाने ठाउँ बनाउने उहाँहरुको सोँच रहेको सुनाउनुहुन्छ । अहिले युवाशक्ति बिदेश जाने अनि गाउँको जग्गा बाझो बन्ने छ नेपालको अवस्था । त्यसैले त्यी युवाहरुलाई स्वदेश फर्किएर आफ्नै माटोमा पसिना बगाउन सिकाउने आफ्नो योजना रहेको मुकेश बताउनुहुन्छ । त्यही सोँचले आफु पनि जापान छाडेर नेपाल आएको उहाँको भनाइ छ ।
हालसम्म कालिज पालन र होमस्टे निर्माणमा करीब ८० लाख लगानी भइसकेको छ । सरकार वा संघ संस्था कतैबाट पनि अनुदान नलिएको चन्द्रमणीको भनाइ छ । धेरैले अनुदान लिन सुझाव दिएपनि आफुहरुको ध्यान त्यता नगएको उहाँ बताउनुहुन्छ । ‘सबैले अनुदान लिनु यस्तोमा पाइन्छ भन्छन्, तर हामी त्यतातीर लागिनौँ । किनकी नेपालमा अनुदान दिदा उनिहरुले मागेजती प्रतिशत फिर्ता गर्नु पर्छरे, अब हामी त्यस्तो गर्न सक्दैनौँ, चन्द्रमणी भन्नुहुन्छ, त्यसैले अनुदानतिर चासो हाम्रो छैन् ।’
अहिले लगानी गरिरहेका राई बुवा छोरा बिस्तारै नाफामा जाने योजनाका साथ लागिपरिरहेका छन् ।गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *