
खोटाङ, असार १४ । एसइईमा खोटाङका नौ वटा माविले शून्य नतिजा ल्याएका छन् । सामुदायीक र संस्थागत गरी जिल्लाका १०२ वटा माबिमध्ये नौ माविले एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयका अनुसार देउराली माबि डुम्रेधारापानी, साकेला माबि रतन्छा, जनता माबि मुसुरीडाँडा, सिद्धेश्वरी माबि खिदिमा, सरस्वती माबि डाँडाखर्क छितापोखरी, अन्नपूर्ण माबि दोर्पाचिउरीडाँडा, दाम्ली माबि डिकुवा, पञ्चकौशिका माबि भण्डारेघाट र कालिका माबि बाहुनीडाँडाको रिजल्ट ‘शुन्य’ आएको हो ।
जिल्लामा सामुदायीक ९६ वटा र संस्थागत ६ वटा मावि छन् । २०८० सालमा भएको एसइई परीक्षामा जिल्लाका २ हजार ७६९ जना सभागी भएकामा १ हजार ४१५ जना मात्रै उत्तिर्ण भएका छन् । एसइईमा ५१.११ प्रतिशतले उत्तिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तीर्थ बिकले बताउनुभयो । उत्तिर्ण विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने छन् ।
ननग्रेडिङमा परेका १ हजार ३५४ विद्यार्थी भने कक्षा ११ मा भर्ना हुन अस्वीकृत भएका छन् । अनुत्तिर्णमध्ये दुई विषय लागेका विद्यार्थीले मात्रै ग्रेडवृद्धिको परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बिकले बताउनुभयो । दुईभन्दा बढी विषय लागेका विद्यार्थीले भने ग्रेडवृद्धिको परीक्षा पनि दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ ।
