Saturday, July 27News That Matters

यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका


खोटाङ, जेठ २० । खोटाङ फुटबल एकेडेमी (केएफए) ले आफ्नो वार्षिक कार्य तालिका निर्माण गरेको छ । केही दिन अघि सुचन राई स्मृति दिक्तेल हलेसी मेयर कपको पाचौँ संस्करण सम्पन्न गरेको केएफएले आगामी दिनको कार्यक्रमहरुका लागि वार्षिक कार्य तालिका निर्माण गरेको हो ।

हाल केएफएले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तरगत ७ देखि १८ वर्षसम्मका बालबालिकालाई फुटबल खेल प्रशिक्षण गराइरहेको छ । सोही ग्रासरुट प्रशिक्षणबाट उत्पादन भएका खेलाडी राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल टिममा पहिलो पटक खोटाङबाट छनोटसमेत भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् ।

यस्तै, विभिन्न उमेर समुहका अन्य खेलाडीलाई पनि माटिकोरे खेलमैदानमा प्रशिक्षण भइरहेको छ । ०८१ जेठ १ गतेबाट सुरु भएको दुवै प्रशिक्षण कार्यक्रम ०८२ को जेठ ३० गतेसम्म सञ्चालन हुने एफएका मुख्य प्रशिक्षक रोषेश श्रेष्ठले बताए ।

यो वर्षको कार्यतालिका अनुसार भदौ २४ देखि २९ गतेसम्म कर्मचारी तथा भेट्रान कप, कात्तिक १ देखि ५ गतेसम्म जिल्ला स्तरीय अण्डर १४, मंसिर २७ देखि ३० गतेसम्म जिल्ला स्तरीय अण्डर १८ फुटबल प्रतियोगिता केएफएले गराउने छ । यस्तै, बालबालिका लक्षित केफए फेस्टिभल पुस ५ गते सञ्चालन गरिने छ । माघ १६ देखि १९ गतेसम्म स्कुल स्तरीय प्रतियोगिता सञ्चालन गरिने कार्यतालिका छ ।

सुचन राई स्मृति दिक्तेल हलेसी मेयर कपको छैटौँ संस्करण आगामी ०८२ वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन गरिने गरी तालिका निर्माण गरिएको प्रशिक्षक श्रेष्ठले बताए ।