Saturday, July 27News That Matters

रावा बेसी पूर्णखोप सुनिश्चितता पालिका घोषणा


खोटाङ, जेठ २० । रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्णखोप सुनिश्चितता घोषण गरिएको हो ।

नेपाल सरकारबाट निःशूल्क पाउने खोप सबै बालबालिकाले लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । हाल रावा बेसीमा नियमित खोप लगाइरहेका १५ महिना मुनीका ७७ जना बालबालिका रहेका छन् । १७४ जनाले पूर्णखोप लगाइसकेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले बताउनुभयो । पालिकामा १५ देखि ५९ महिनासम्मका ५५८ जना बालबालिका रहेका छन् । उनीहरु सबैले पूर्णखोप लगाइसकेको सुनिश्चित भएसँगै पालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता पालिका घोषण गरिएको हो ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाइले पालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको प्रमाणपत्र दिनुभएको हो । कार्यक्रमा पूर्णखोप सुनिश्चितताको लागि खट्ने वडा खोप समन्वय समिति, स्वास्थ्य चौकी र स्वयंसेविकाहरुलाई पालिकाले सम्मान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रममा समन्वय प्रमुख राई, स्वास्थ्य कार्यालय प्रमुख चौलागाइसँगै रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

यो वर्ष हालसम्म रावा बेसीसँगै साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेको छन् । सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्ने कार्यक्रम रहेको छ । बाकी अन्य ६ स्थानीय तहलाई घोषणा गरेर असार १० गतेसम्ममा खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख चौलागाइले बताउनुभयो ।

खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ ।