Saturday, July 27News That Matters

खोटाङ फुटबल एकेडेमीले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्दै 


खोटाङ, जेठ २९ । खोटाङ फुटबल एकेडेमी (केफए) ले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्ने भएको छ । केफएको ९ औँ ब्याचको लागि तीन उमेरसमुहको खेलाडी छनोट गर्न लागिएको हो ।

केफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठका अनुसार १० देखि १३ वर्ष भित्रका १५ जना, १४ देखि १६ वर्ष भित्रका २० जना र १७ देखि १८ वर्ष भित्रका १५ जना खेलाडी छनोट गर्न लागिएको हो । छनोट भएका खेलाडीलाई विशेष प्रशिक्षण दिएर खोटाङको उमेर समुहको फुटबल टिम निर्माण गरिने श्रेष्ठले बताए । १० देखि १३ वर्ष भित्रका उमेर समहको खेलाडी जेठ ३० देखि ३२ गतेसम्ममा माटिकोरे खेल मैदानमा विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ ।

यस्तै, १४–१६ उमेर समुहको खेलाडी जेठ ३० देखि असार ४ गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ । १७–१८ उमेर समुहको खेलाडी जेठ ३० देखि असार २० गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने प्रशिक्षक श्रेष्ठले बताए । छनोटमा सहभागि खेलाडीले जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र दर्ता शूल्क १५० रुपैयाँ लिएर आउनु पर्ने छ ।

५० जना विभिन्न उमेरका प्रतिभावान खेलाडी छनोट गरी १ वर्षसम्म प्रशिक्षण दिइने प्रशिक्षक श्रेष्ठको भनाइ छ । उत्कृष्ट खेलाडीहरु निर्माण गरी एन्फाको छनोटसम्म पुराउने लक्ष्य राखिएको केफएले जनाएको छ । यस अघि १३ वर्ष मुनीको उमेर समुहमा एक खेलाडी केफएले छनोट गराउन सफल भइसकेको छ ।

२०७३ सालदेखि जिल्लाको फुटबल खेलको विकास र बिस्तारमा निरन्तर लागिरहेको केफएले हालसम्म करीब १ हजार बढी खेलाडीहरुलाई प्रशिक्षण गराइसकेको छ ।