Friday, April 17News That Matters

एसईईमा उत्कृष्ट हुने हलेसी तुवाचुङका तीन विद्यालयलाई नगद, उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप

नगरपालिका भरीमा उत्कृष्ट हुने विद्यार्थी कला राईलाई ल्याप्टप प्रदान गर्दै मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी लगायत

खोटाङ, भदौ १३ । हलेसी तुवाचुङ नगरपालिकाले एसईईमा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७९ को एसईई परिक्षामा नगरपालिका भरी प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय र उत्कृष्ट एक जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको हो ।

नगरपालिका भरीमा सबै भन्दा धेरै (३.२५) जिपिए ल्याउने महेन्द्रद्धोय माध्यमिक विद्यालयकी छात्रा कला राईलाई नगरपालिकाले ल्याप्टप र प्रमाणपत्रले सम्मान गरेको छ । यस्तै १२ वटा माध्यमिक विद्यालय रहेको नगरपालिकामा औसत जिपिएको आधारमा तीन विद्यालयलाई पुरस्कार प्रदान गरिएको नगर शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो ।

(२.३३४) जिपिएसहित महेन्द्रद्धोय माध्यमिक विद्यालय (महादेवस्थान) प्रथम भएको छ । प्रथम हुने विद्यालयलाई नगरपालिकाले रु ५५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको छ । यस्तै, (२.१४३) जिपिएसहित सरस्वती माध्यमिक विद्यालय (अर्खौले) दोस्रो र (२.१०७) जिपिएसहित बुलापन्थे माध्यमिक विद्यालय (धितुङ) तेस्रो भएका छन् । दुई विद्यालयलाई क्रमश रु ४५ हजार र रु ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको कार्कीले बताउनुभयो ।

पुरस्कार ग्रहण गर्दै प्रथम हुने महेन्द्रद्धोय माविका प्रधानाध्यापक मनकुमार राईले विद्यालयमा शिक्षकको सिस्टम र विद्यार्थीको अनुशासन कायम गरेपछि शैक्षिक सुधार हुँदै गएको बताउनुभयो । नगरपालिकाले शिक्षामा गरिरहेको लगानिको प्रतिफल देखिदै गएको र यसलाई अझ बढाउन हौसलाका लागि विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको उपप्रमुख रमेश कुमार राउतले बताउनुभयो ।

मानवपुँजी निर्माणमा ध्यान नदिने हो भने भौतिक संरचना निर्माणले मात्र काम नगर्ने भएकाले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै लगानि गरिरहेको नगरप्रमुख विमला राईले बताउनुभयो । सोही अनुसार नगरपालिकाले शिक्षा क्षेत्रमा बजेट खर्च गरिरहेको छ । शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाले प्राप्त उपलब्धिलाई पुरस्कारमार्फत सम्मान गरिएको प्रमुख राईको भनाइ छ ।

यसैबिच, नगरपालिकाले ९० जना शिक्षको दरवन्दी समायोजन गरेको छ । धेरै विद्यालयमा स्थायी शिक्षक नभएकाले दरवन्दी समायोजन एवं तहगत मिलान गरिएको नगर प्रमुख राईले बताउनुभयो । 

 

नगरपालिका भरीमा प्रथम भएर पुरस्कार ग्रहण गर्दै महेन्द्रद्धोय माविका प्रअ मनकुमार राई
नगरपालिका भरीमा दोस्रो भएर पुरस्कार ग्रहण गर्दै सरस्वती माविका प्रअ नविन चाम्लिङ
नगरपालिका भरीमा तेस्रो भएर पुरस्कार ग्रहण गर्दै बुलापन्थे माविका प्रअ टिकाराज राई