
खोटाङ, भदौ १३ । खोटाङको रावाबेँसी गाउँपालिकाका राडीपाखी व्यवसायीले चर्खा र कोरेसो पाएका छन् । राडीपाखी व्यवसायीलाई आवश्यक सामाग्री चर्खा र कोरेसो गाउँपालिकाले प्रदान गरेको हो ।
गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ६ हौँचुरका गुरुङ समुदायले यो पेशा गर्दै आएका छन् । गुरुङहरुको पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यवसायीक विकासमा सघाउ पु¥याउन आवश्यक सामाग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बुधबार वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । बिहिबार वडा नम्बर ५ दुवेकोलमा सोही सामाग्री वितरण गरिने उहाँको भनाइ छ ।
गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको गाउँपालिका उपाध्यक्ष कोशिला गुरुङले बताउनुभयो । भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्ष्यित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उहाँको भनाइ छ । राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलव्ध गराइने उपाध्यक्ष गुरुङले बताउनुभयो ।
राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरणका तस्विरहरु