Sunday, October 6News That Matters

खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब

झोलुङ्गे पुलको खोटाङतर्फको टावर र बाईटार गाउँ ।

राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ १४ । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणधिन रहेको झोलुङ्गे पुलको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म पुल निर्माणको काम भएको छैन् । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिडेको स्थानीयको भनाइ छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भएपनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार बशन्त बुढाथोकी अहिले गायब छन् ।

ढिलासुस्तीमा काम भइरहेदा निर्माण सम्पन्न नहुँदै चैतमा टावर नै ढलेको थियो । झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइसकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको स्थानीय सुनकोसी आधारभुत विद्यालयका प्रधानाध्यापक बिशाल राईले बताउनुभयो । उहाँका अनुसार १३ स्टेपमध्ये एक वर्ष अगाडी नौ स्टेप निर्माण गरिएको थियो । टावर ढल्ने केही दिन अगाडी मात्र बाकी पाँच स्टेप जडान गरिएको थियो । टावर ढलेपछि टावरको सामान लिएर कामदारसहित ठेकेदार हिडेको प्रधानाध्यापक राईको भनाइ छ ।

निर्माण सम्पन्न नहुँदै ढलेको झोलुङ्गे पुलको टावर ।

उदयपुरतर्फ नजिक कुनै बस्ती नरहेकाले मानविय क्षति भएन । खोटाङतर्फको टावर आसपासमा सुनकोसी आवि. र केही पसल सञ्चालनमा रहेका छन् । जसकारण टावर ढल्न सक्ने भन्दै स्थानीयमा त्रासमा छन् । खोटाङतर्फको टावरलाई बाँधेर राखिएको स्थानीयको भनाइ छ ।

प्राविधिक कारणले पुलको टावर ढलेपछि समस्या भएको ठेकेदार बुढाथोकीको भनाइ छ । ढलेको टावर पुनः जडान गर्न सामान बनाउन लगिएको उहाँको भनाइ छ । पुरानो सामानले काम नगर्ने भएकाले नयाँ सामान तयारी गरिएको छ । वर्खाको समयमा सामान ल्याने बाटो असहज भएकाले पानी पर्न रोकिपछि आएर पुल निर्माणको काम पुनः सुरु गर्ने उहाँको भनाइ छ ।

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुंगा चढेर नदीमा वारपार गर्नेगरेका छन् । अहिले कोसीमा पानीको मात्रा बढी भएकाले डुंगा चलाउन पनि रोकिएको छ । जसकारण करीब ९/१० किलोमिटर टाढा रहेको अर्को पुल तरेर यात्रा गरिरहेको स्थानीय बताउछन् । उदयपुरको कटारीबजार, डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो । त्यसैले झोलुङ्गे पुल चाडो निर्माण हुनु पर्ने उनिहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *