
खोटाङ, भदौ २५ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार गरिएको छ । हराएको ४ दिनपछि सोमबार स्थानीयले बृद्धा मगरलाई सकुशल उद्धार गरेका हुन् ।
शुक्रबार बिहान १० बजे नजीकै रहेको सम्धीको घर जान्छु भनेर हिडेकी बृद्धा मगर बेपत्ता भएकी थिइन् । शुक्रबार साँझसम्म घर नर्फिएपछि स्थानीयले खोजतालस गरेका थिए । खोजतालसका लागि परिवारले डुम्रुेधारापानी प्रहरी चोकीमा निवेदनसमेत दिएका थिए ।
बेपत्ता भएको ४ दिनपछि सोमबार बिहान करीब १० बजे घर भन्दा थोरै टाढा रहेको खहरे खोल्साबाट स्थानीयले उद्धार गरेका हुन् । डुम्रेधारापानीस्थित हिडपा र धारापानीकोबीचको खोल्सामा हिडिरहेको अवस्थामा भेटिएको स्थानीय खिला भट्टराईले बताए । गाउँलेले छुट्टा छुट्टै समुह बनाएर खोजतालस गर्नेक्रममा भट्टराईको समहुले खोल्सामा हिडिरहेको अवस्थामा फेला पारेको बताइएको छ ।
आफु दुधकोशी पुगेको र घर फर्किने बाटो बिर्सेको बृद्धा मगरको भनाइ छ । जंगलकोबीचमा रहेको खोल्साबाट उद्धार गरेर गाउँलेले परिवारलाई जिम्मा लगाएको स्थानीय भट्टराईको भनाइ छ ।