Thursday, September 21News That Matters

डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा

काठमाडौंमै पुगेर सेवा प्रदान गर्दै वडाध्यक्ष ज्ञानबहादुर पाण्डे र वडा सचिव सुवास पौडेल ।

खोटाङ, भदौ २६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले संघीय राजधानी काठमाडौंमै वडाको सेवा पाएका छन् । डुम्रेधारापानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौं बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् ।

डुम्रेकोट सेवा समाज खोटाङ, काठमाडौंको समन्वयमा वडा कार्यालयले सोमबार आयोजना गरेको प्रशासनिक घुम्ति सेवाबाट २ सय बढीले सेवा लिएका छन् । वडाध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा सचिव सुवास पौडेल उपस्थित भएर प्रदान गरिएको घुम्ति सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन भएको थियो । सेवाग्राहीको भिड लागेकाले रातीसम्म सेवा सञ्चालन गर्दा पनि केही नागरिकको काम बाकी नै रहेको छ । उक्त बाकी काम मंगलबार (आज) सक्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो ।

स–साना कामका लागि ठुलो खर्च गरेर वडा कार्यालय आउनु पर्ने नागरिकहरुको समस्या छ । जसकारण नागरिकको समस्या मध्यनजर गर्दै काठमाडौं पुगेर सेवा प्रदान गरिएको वडाध्यक्ष पाण्डेको भनाइ छ । ‘नागरिकको नजिकको सरकार, अझ भनौँ, छाम्दा भेटिने, देख्दा देखिने सरकार, स्थानीय सरकार हो ।’ वडाध्यक्ष पाण्डेले भन्नुभयो, ‘नजिकको सरकार भएपछि नागरिकका स–साना समस्या पनि बुझ्नु पर्ने हुन्छ । हाम्रा धेरै नागरिकहरु विभिन्न कामले काठमाडौंमा बस्छन् । त्यसैले हामीले काठमाडौंमा आएर सेवा प्रदान गरेका छौँ ।’

वडाले सञ्चालन गरेको घुम्ति सेवाबाट २ सय बढी नागरिकले जन्म दर्ता, मालपोत असुली, विवाह दर्ता, विभिन्न सिफारिस लगायत वडाबाट पाउने सबै सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *