Saturday, July 27News That Matters

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” : २० गते दिक्तेलमा राजेश पायलको सांगीतिक प्रस्तुति

 


खोटाङ, असोज १५ । चर्चित गायक (राई इज किङ) राजेश पायल राई खोटाङ आउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा असोज १७ देखि २१ गतेसम्म हुने “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा प्रस्तुती दिन गायक राई जिल्ला आउन लागेका हुन् ।

चर्चित गायक राई नगरपालिकाका नगर दूतसमेत हुन् । गायक राईले असोज २० गते दिक्तेलमा सांगीतिक प्रस्तुती दिने नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

प्रदर्शनीमा १४ देशका ४० जना बढी ख्यातीप्राप्त चित्रकारको सहभागी हुने छ । कतीपय देशका चित्रकारहरु काठमाडौं आइसकेका छन् । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा लाईभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातीप्राप्त चित्रकारहरु असोज १७ गते दिक्तेल आउनेछन् ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा आएका चित्रकारहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहहरुबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विरहरको लाईभ चित्र कोर्नेछन् ।

धनु आर्ट स्टुडियोको प्राविधिक सहयोग र नगरपालिकाको सम्पूर्ण व्यवस्थापनमा चित्रकारले कोरेका चित्रहरुलाई कार्यक्रमको अन्तिम दिन माटिकोरे खेलमैदानमा प्रदर्शन गरिनेछ । साथै काठमाण्डौको आर्ट ग्यालरीमा प्रदर्शनी गर्ने समेत व्यवस्थापन भईरहेको बताइएको छ ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीले नगरपालिका तथा समग्र जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासका साथै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानहरुको महत्व झल्काउन कोशेढुंगा सावित गराउन सकिनेमा दुई मत नरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

कार्यक्रमका लागि सरसफाई, विभिन्न ठाउँमा गेट निर्माण लगायतका काम धमाधम भइरहेको छ ।