Saturday, July 27News That Matters

१४ देशका चित्रकारले सुरु गरे खोटाङको महत्वपुर्ण स्थानको दृश्य क्यानभासमा उतार्न

 

बिहिबार जालपामा चित्र कोर्दै चित्रकारहरु, तस्विरहरु : पङ्कि राई

खोटाङ, असोज १८ । खोटाङ आएका नेपालसहित १४ देशका ३७ जना कलाकारहरुले जिल्लाका महत्वपुर्ण स्थानहरुलाई क्यानभासमा उतार्न सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागि कलाकार एवं चित्रकारहरुले चित्र कोर्न सुरु गरेका हुन् ।

चित्रकारहरु बिहिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा पुगेका थिए । जालपाबाट उनिहरुले औपचारिकरुपमा लाइभ चित्र कोर्न सुरु गरेका छन् । २१ असोजसम्म सञ्चालन हुने कार्यक्रममा चित्रकारहरु जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम रहेको छ । बिहिबार (आज) जालपासँगै खानीडाँडा विमानस्थलसम्म चित्रकारहरु पुगेका थिए । शुक्रबार बिहान मझुवागढी डाँडामा गएर अवलोकनसँगै चित्र कोर्ने कार्यक्रम रहेको छ । शुक्रबार दिउँसो दिक्तेल बजारको विभिन्न ठाउँमा लाइभ चित्र कोर्ने कार्यक्रम रहेको छ ।

जिल्ला आएका कलाकारहरुलाई बुधबार भब्य स्वागत गरिएको थियो । १४ वटै देशको झण्डा फहराएर, जिल्लाका विभिन्न जातजातीको नाँच देखाएर एवं खानेकुरा खुवाएर कलाकारहरुलाई स्वागत गरिएको हो । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको मेयर भट्टराईको भनाइ छ ।

लाईभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातिप्राप्त चित्रकारहरुको उपस्थिति रहेको छ ।

ख्यातिप्राप्त कलाकारहरुले बनाएको चित्र असोज २० गते शनिबार सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा प्रदर्शनीसमेत गरिनेछ । उक्त दिन सांगीतिक प्रस्तुती दिन चर्चित गायक राजेश पायल राई (राई इज किङ) पनि दिक्तेल आउने कार्यक्रम रहेको छ । गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर दूतसमेत हुनुहुन्छ ।