Saturday, July 27News That Matters

अनेरास्ववियुको खोटाङ अधिवेशन मङ्सिर २९ र ३० गते ऐँसेलुखर्कमा हुने

पत्रकार सम्मेलन मार्फत अधिवेशनको जानकारी हराउदै अनेरास्ववियुको टिम

खोटाङ, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ  जिल्ला अधिवेशन मङ्सिरमा हुने भएको छ । २४ औँ जिल्ला अधिवेशन मङ्सिर २९ र ३० गर्ने निर्णय भएको मंगलबार पत्रकार सम्मेलनमार्फत अनेरास्ववियुले जानकारी गराएको हो ।

सोमबार बसेको आयोजक कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति टुंगो लगाएको बताइएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्ववियुको अधिवेशन कार्यक्रम हुनेछ । प्राय जिल्ला सदरमुकाम दिक्तेलमा हुने कार्यक्रमलाई यस पटक सदरमुकाम बाहिर लाने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोहन पोखरेलले बताउनुभयो ।

अधिवेशनका लागि अनेरास्वविय जिल्ला संयोजक यम खड्काको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति, जिल्ला इन्चार्ज पोखरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, जिल्ला सह–संयोजक बिष्णु उपरकोटीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सुरेस प्रधानको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र अभिषेक घिमिरेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसिति गठन गरिएको अनेरास्ववियुले जनाएको छ ।

अधिवेशनमा जिल्लाका विभिन्न कमिटीबाट १ सय ६८ जनाले प्रतिनिधित्व गर्ने छन् । सोही अधिवेशनले अनेरास्ववियुको जिल्लामा नयाँ कमिटी निर्वाचित गर्ने छ । अधिवेशनका लागि “विद्यार्थी हितमा केन्द्रित सुदृढ संगठन, नयाँ शिराबाट अबको शैक्षिक आन्दोलन” भन्ने नारासमेत तयार गरिएको जिल्ला इन्चार्ज पोखरेलले बताउनुभयो ।

प्राय राजनीतिक दलका भातृ संगठनहरुले कक्षा १० सम्मका विद्यालयमा आफ्नो संगठन बिस्तार गर्ने गरेका छन् । एमालेको भातृ संगठन अनेरास्ववियुले यस पटक कक्षा १२ सम्म पठनपाठन हुने माध्यमिक विद्यालयमा मात्र संगठन बिस्तार गर्ने निर्णय गरेको जनाएको छ ।