Friday, April 17News That Matters

दिक्तेल रुपाकोटले पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसन गरिदिने

खोटाङ, कात्तिक १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको छ । काभ्रेस्थित मेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको हो ।

सामुदायिक सेवा प्रतिष्ठान मध्यपुरठिमि भक्तपुरको आर्थिक सहयोगमा नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गर्न लागेको जनाएको छ । केही समय अघि सबै वडामा पुगेर नगरपालिकाको स्वास्थ्य टोलीले पाठेघर खसेका महिलाहरुको पहिचान गरेको थियो । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर सोही समयमा उपचार गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरु ३२ जना रहेका छन् । उनिहरुको अप्रेसन नै गर्नु पर्ने भएकाले मेमोरीयल अस्पताल लाने तयारी गरिएको उहाँको भनाइ छ ।

नगरपालिकाले यस अघि वडामा सञ्चालन गरेको शिविरमा छुटेका महिलाहरुलाई पनि समेटेर करीब ६० जनालाई उपचारका लागि लाने उहाँले बताउनुभयो । जसकारण पाठेघरमा समस्या भएका महिलाहरु वडा कार्यालय वा स्वास्थ्यकर्मीसँग सम्पर्कमा आउन नगरपालिकाले अनुरोध गरेको छ ।

गाउँघरमा धेरै आमा दिदिबहिनीहरु पाठेघरको समस्याले ग्रसित रहेकाले उनिहरुको समस्याको समाधानका लागि उपचारको निःशूल्क व्यवस्था नगरपालिकाले मिलाएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । ‘गाउँ घरमा धेरै दिदिबहिनीहरु, विशेषगरी ६० वर्ष माथिका ह्रारो काम गरिरहेका महिलाहरु यो रोगबाट पीडित छन् । सबै महिला दिदिबहिनीहरुले खुलेर यो रोगका विषयमा भन्न नसक्दा झनै जटिलहुँदै जाने भएकाले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’ मेयर भट्टराईले भन्नुभयो ।

पाठेघरको समस्याले अप्रेसन गर्नु पर्ने महिलाहरुलाई मङ्सिर २ गते बस रिजर्भ गरेर अस्पताल लाने नगरपालिकाको तयारी छ । बिरामीसहित एक जना कुरुवाको आउने जाने, खाने बस्ने सबै निःशूल्क हुने मेयर भट्टराईले बताउनुभयो ।

यस अघि जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले पनि पाठेघर खसेका महिलाहरुको सोही अस्पतालमा लगेर निःशूल्क उपचार गराएको थियो ।

नगरपालिकाको सूचना