खोटाङ, कात्तिक २५ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा आयोजित अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा फुटबल क्लबले जितेको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेर्पाले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । शनिबार भएको फाइनल खेलमा सुङ्देल फुटबल क्लबलाई ६–१ गोल अन्रतले हगाउदै नेर्पाले उपाधि जितेको हो । दोस्रो भएको सुङ्देलले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक किरण राईले जानकारी दिए ।
प्रतियोगिताको सेमिफाईनलिस्ट हुने राईजिङ स्पोर्टस् क्लब बाम्राङ र सप्तेस्वर स्पोर्टस् क्लबलाई नगद रु ६÷६ हजार प्रदान गरिएको छ । उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राईले गरेका थिए । खेलको समापन तथा पुरस्कार वितरण केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईको उपस्थितिमा भएको खेल संयोजक राईले बताए ।
खकलुङ युनाइटेड क्लबले ४ वर्षयता हरेक वर्ष दसैँ र तिहारको अवसर पारेर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।