Saturday, July 27News That Matters

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते


खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित ज्यामिरे र वडा नम्बर ४ बतासेलाई क्रमश नगद ५ हजार ५५५ र ४ हजार ४४४ को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष राईको भनाइ छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा डाँडाखर्क खेल मैनादमा २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल आइतबार (आज) भएको हो । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमले सहभागि जनाएका थिए ।

भाग्यशाली चिट्ठामा ४३ ईन्चको स्मार्ट टेलिभिजन

यसैबिच, भलिबल प्रतियोगितासँगै भाग्यशाली चिट्ठा कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष राईले बताए । रु १०० को टिकटदर कायम गरिएको भाग्यशाली चिट्ठामा दिप्रुङकै सुरेन्द्र राईले ४३ ईन्चको स्मार्ट टेलिभिजन जितेका छन् । दोस्रो पुरस्कार भिभो मोबाईल दिक्तेलकी जेनिशा बजिमयले जितेको अध्यक्ष राईको भनाइ छ । यस्तै, तेस्रो पुरस्कार नगद रु १० हजार काठमाडौंका संगम राईले जितेका छन् । चौथो पुरस्कार अडियो बक्स दिप्रुङका सम्राट राई जितेका छन् । अन्य ७ जनालाई फिचर मोबाईल प्रदान गरिएको छ ।