Saturday, July 27News That Matters

निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने


खोटाङ, मंसिर १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनका लागि शनिबार काभ्रे लाने भएको छ । काभ्रेस्थित श्रीमेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

मंसिर २ गते शनिबार पहिलो पटकमा १७ जना बिरामी र उनिहरुको कुरुवा गरी ३४ जनाको टोली नगरपालिकाले रिजर्भ गरेको बसमा काभ्रे प्रस्थान गर्ने छन् । उपचारको लागि बिरामी लिएर नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राईसहितको टोली काभ्रे जाने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । बिरामीको एक जना कुरुवासहित बिरामी अस्पतालसम्म जान आउन, खान बस्नसँगै उपचारमा कुनै शूल्क लाग्ने छैन् ।

यो वर्ष पाठेघरको समस्या भएका करीब ६० जना बिरामीको निःशूल्क अप्रेसन गर्ने तयारी नगरपालिकाको छ । तर समस्या भएका कतिपय महिलाहरु अस्पतालसम्म जान नमान्ने गरेका छन् । नगरपालिकाले प्रत्येक वडामा गएर परिक्षण गर्दा अप्रेसन गर्नु पर्ने करीब ६२ जना बिरामी फेला परेको जनस्वास्थ्य निरिक्षक आचार्यले बताउनुभयो । नगरपालिकाले निःशूल्क अप्रेसन गरिदिने तयारी गर्दा पनि महिलाहरु नमान्ने गरेको उहाँको भनाइ छ । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर वडामै उपचार गरिएको छ । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरुलाई अप्रेसनका लागि काभ्रे लान लागिएको होे ।

थप अन्य बिरामीलाई यहि ५ गते अर्को बसमा काभ्रे लाने नगरपालिकाको तयारी छ । उक्त दिन सबै सबरामीलाई लान नसकिए पुनः ७ गते बस रिजर्भ गरेर लगिने मेयर भट्टराईले बताउनुभयो । काभ्रेसम्म कुरुवासहित बिरामीलाई लगेर निःशूल्क अप्रेसन गर्नको लागि सामुदायिक सेवा प्रतिष्ठान मध्यपुरठिमि भक्तपुरले आर्थिक सहयोग गरेको उहाँको भनाइ छ । गाउँघरमा धेरै आमा दिदिबहिनीहरु पाठेघरको समस्याले ग्रसित रहेकाले उनिहरुको समस्याको समाधानका लागि उपचारको निःशूल्क व्यवस्था नगरपालिकाले मिलाएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । ‘गाउँ घरमा धेरै दिदिबहिनीहरु, विशेषगरी ६० वर्ष माथिका ह्रारो काम गरिरहेका महिलाहरु यो रोगबाट पीडित छन् । सबै महिला दिदिबहिनीहरुले खुलेर यो रोगका विषयमा भन्न नसक्दा झनै जटिलहुँदै जाने भएकाले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’ मेयर भट्टराईले भन्नुभयो ।